मालपोतका तत्कालीन अधिकृत मिश्रविरुद्ध दुई करोड नौ लाख बढीको भ्रष्टाचार मुद्दा

मिश्रविरुद्ध दुई करोड नौ लाख बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं, कात्तिक २० गते । मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध राजस्व चुहावटको आरोपमा दुई करोड नौ लाख ३१ हजार ६४७ रुपियाँ भ्रष्टाचार मुदा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको सो रकम भ्रष्टाचार भएकोले दुई करोड नौ लाख ३१ हजार ६४७ को दोब्बर रकम जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ ।

आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय, पर्साको फाँट ‘ग’ को एकै रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा दर्ता किताब प्रमाणित नगरी भक्तानी गरिएकाे आयोगले जनाएको छ ।

यसैगरी, सोही मालपोत कार्यालयका तत्कालीन अधिकृत भूप बहादुर बोगटीले आर्थिक वर्ष २०७१/७२ मा सोही जग्गामा लिखत दर्ता किताबमा प्रविष्टि प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भई सङ्कलन भएको एक करोड ४९ लाख ६९ हजार १४५ रुपियाँभन्दा दोब्बर जरिवाना हुन मागदाबी लिई भ्रष्टाचारको आरोप लागेको आयोगले जनाएको छ ।

सोही आरोपमा तत्कालीन मालपोत अधिकृत गोपाल ढुङ्गानाविरुद्ध ३५ लाख ४५ हजार ९५० रुपियाँभन्दा दोब्बर जरिवाना हुन समेतको मागदाबी लिई भ्रष्टाचार आरोप लागेको छ ।

आयोगका अनुसार तत्कालीन अधिकृतहरू पदम प्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६०० रुपियाँको दोब्बर, अधिकृत चन्द्र बहादुर भण्डारीविरुद्ध दुई लाख ४४ हजार ४६२ भन्दा दोब्बर जरिवाना, अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ हजार १७१ भन्दा दोब्बर जरिवानासहित मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी, सोही कार्यालयमा तत्कालीन नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध पाँच करोड ५५ लाख १९ हजार ९७५ रुपियाँको दोब्बर जरिवाना हुन मागदाबी लिई भ्रष्टाचार आरोपको मुदा दायर भएको आयोगले जनाएको छ । यस मुद्दामा उपाध्यायका अंश खाने अंशियार छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपति प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्यायविरुद्ध सो रकम असुलउपर गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *