इङल्याण्डले ओमानलाई हराउँदै सुपर आठको सम्भावना कायमै राख्यो

इङल्याण्डले ओमानलाई हराउँदै सुपर आठको सम्भावना कायमै राख्यो

काठमाडौं :इङल्याण्डले ओमानलाई हराउँदै सुपर आठको सम्भावना कायम राखेको छ ।जारी टी-२० विश्वकपमा इङल्याण्डले ओमानमाथि ८ विकेटले शानदार जित हासिल गर्दै आफ्नो सुपर आठमा पुग्ने सम्भावना कायम राखेको छ। गएराती सम्पन्न खेलमा ओमानले दिएको ४८ रनको सानो लक्ष्यलाई पछ्याउँदै इङल्याण्डले ३.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

पहिला ब्याटिङ गरेको ओमानको टीम १३.२ ओभरमा मात्र ४७ रनमा अलआउट भयो। ओमानका लागि शोयब खानले मात्र ११ रन बनाएका थिए, अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। इङल्याण्डका बलर आदील रशिदले सर्वाधिक ४ विकेट लिए भने जोफ्रा आर्चर र मार्क वूडले ३-३ विकेट लिए।

यस जितसँगै इङल्याण्डले समूह बीमा ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। अस्ट्रेलियाले ३ खेलमा ६ अंकसहित सुपर आठमा स्थान सुरक्षित गरिसकेको छ भने स्कटल्याण्ड ५ अंकसहित दोस्रो स्थानमा रहेको छ।

समूह बीबाट नामिबिया र ओमान बाहिरिइसकेका छन्। आगामी खेलमा अस्ट्रेलियाले जुन १६ मा स्कटल्याण्डसँग र इङल्याण्डले जुन १५ मा नामिबियासँग खेल्ने तालिका छ। इङल्याण्डको सुपर आठमा पुग्ने सम्भावना कायम राख्न अस्ट्रेलियाले स्कटल्याण्डलाई हराउनुपर्ने र इङल्याण्डले नामिबियालाई पराजित गर्नुपर्नेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *