मलंगवा । सर्लाहीको मलङ्गवा नगरपालिका–४ मा बेवारिसे अवस्थामा फेला परेको पेस्तोल पड्किँदा एक किशोर घाइते भएका छन्। स्थानीय रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम पेस्तोल चलाउने क्रममा घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ क्षेत्रमा निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको वस्तु फेला परेको थियो। सो वस्तु खोली हेर्दा पेस्तोल भेटिएको र नक्कली होला भन्ने अनुमान गर्दै खेलाउने क्रममा अचानक पड्किँदा किशोरलाई गोली लागेको बताइएको छ।
गोली लाग्दा आकाश रामको दाहिने हातको पञ्जामा चोट लागेको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्। घाइते किशोरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था अहिले खतरामुक्त रहेको छ।
उक्त स्थानमा भेटिएको पेस्तोल केही दिनअघि भएको अर्को घटनासँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ। गत आइतबार फागुन ३ गते राति मलङ्गवामै अज्ञात व्यक्तिको गोली प्रहारबाट भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो। प्रहरीले दुवै घटनाबीच सम्बन्ध हुनसक्ने आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ।