आज अक्षय तृतीया, जौको सातु खानाले केके हुन्छन् फाइदा ?

काठमाडौँ : आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। हिन्दू सम्प्रदायमा जौको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ। आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ।

धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ। त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ। यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ। त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ।

यसैबीच, मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ। ब्राह्मणलाई जौ, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ। पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन्। यस पर्वमा गरिबलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको छ।

आज सुन, शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने शास्त्रमा वर्णन गरिएको छ।आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ ।

यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

सातु नियमित सेवनले हाम्रो स्वास्थ्यमा निकै फाइदा हुने गर्दछ । सातु मकै, चना, जौ अर्थात् कोदोको पनि बनाउन सकिन्छ । सातुमा कागतिको रस, नुन, पानी र जीरा मिश्रण गरेर सेवन गर्नु पर्छ । धेरै किसिमका पोषक तत्व पाइने हुदा सातुको सेवनले हामीलाई पोषण दिन्छ । यसमा प्रोटिनको मात्रा अत्यधिक हुने भएको कारणले गर्मी मौसममा यसको सेवन गर्नु पर्छ । सातु खादा यसले हाम्रो शरीरको तापक्रमलाई नियन्त्रणमा ल्याएर चिसो बनाइ राख्न मद्दत गर्छ । सातुको सेवनले शरीरमा तत्कालै उर्जा प्रदान गर्छ । पटक पटक भोक लागिरहन्छ वा खाना खादा सन्तुष्ट हुइदैन भने सातुको प्रयोग हामीलाई निकै फाइदा हुन्छ । सातु खाने या सातुको सर्वत पिएपछि लामो समय सम्म हामीलाई भोकको अनुभव हुँदैन ।

यसले भोकको अनुभुति हटाउनका साथै शरीरलाई कमजोर हुन दिदैन । सातुले हाम्रो पाचन प्रक्रियालाई सक्रिय बनाएर एसिडिटी, कब्जियत तथा पेटमा हुने समस्यालाई ठिक गर्छ । यसको सेवनले हाम्रो लिभरलाई पनि बलियो बनाउन मद्दत गर्छ । नियमित रुपमा सातुको सेवन गर्नाले खानेकुरालाई सजिलैसँग पचाउने भएको कारणले यसले हाम्रो तौललाई नियन्त्रणमा ल्याउनुका साथै मोटोपनबाट हैरान भएका मानिसहरुका लागि उपयुक्त मानिन्छ ।

सातु डाइबिटीज र उच्च रक्तचापका बिरामीहरुका लागि पनि लाभदायक मानिन्छ । यसले हाम्रो शरीरको कोलेस्टेरोलको मात्रालाई कम गरेर उक्तरक्त चाप, मधुमेहलाई नियन्त्रण गर्नुका साथै हामीलाई मुति सम्बन्धि विभिन्न रोगहरुबाट जोगाउन मद्दत पुर्याउछ । यसको नियम्नित सेवनले हाम्रो हड्डी तथा मांसपेशीको बिकाशमा मद्दत पुर्याएर बलियो बनाउद छ । यसले हाम्रो छालालाई नरम र चम्किलो बनाउन समेत भूमिका खेल्दछ। यसको सेवनले हाम्रो अनुहारको दाग, चाया तथा पोतोलाई हटाएर हाम्रो छालालाई चाउरी पर्न दिँदैन।आयुर्वेदमा जौको सातु र सख्खरको सर्वतलाई ऊर्जाजन्य पौष्टिक आहार मानिएको छ ।

सातु खानुका केही फाइदाहरु निम्न प्रकारका छन्

– गर्मीमा ‘लु’ लाग्ने समस्याहरु धेरै नै सुनिन्छ। तर सातुको सेवनले शरीरलाई चिसो बनाइ राख्न मद्दत गर्दछ। जसले गर्मीको दुष्प्रभावबाट बच्नुका साथै ‘लु’ लाग्ने समस्या हुँदैन।

– कतिपय मानिसहरुलाई पटक पटक भोक लाग्ने हुन्छ । लामो समयसम्म भोकै बस्न सकिरहेका हुँदैनन्। उनीहरुका लागि सातुको प्रयोग फाइदाजनक हुन सक्छ। सातुको सरबत बनाएर पिउने गर्नाले लामो समयसम्म भोकको अनुभुति हुँदैन।

– सातु प्रोटिनको लागि राम्रो श्रोतको रुपमा चिनिन्छ। सातुले पेटमा हुने समस्यालाई ठिक गर्नुका साथै लिभरलाई पनि बलियो बनाउँछ। खानेकुरालाई सजिलैसँग पचाउँछ जसले गर्दा कब्जियतबाट पनि छुट्कारा पाउन सकिन्छ।

– जौं र चनाले बनाएको सातु डाइबिटीजका लागि लाभदायक मानिन्छ। डाइबिटीजका बिरामीहरुलाई नियमितरुपमा सातुको सेवनले धेरै फाइदा पुग्ने चिकित्सकहरु बताउँछन्।

– सातुको सेवनले शरीरमा छिट्टै ऊर्जा दिन्छ। शरीरलाई कमजोर हुन दिँदैन।

– सातुको सेवन मोटोपनबाट हैरान भएका मानिसहरुका लागि रामवाण नै मानिन्छ। नियमित रुपमा सातु सेवन गर्नाले पाचनप्रक्रिया सहि तरिकाले काम गर्छ र मोटोपन समस्याबाट छुट्कारा पाउन सकिन्छ।

– उच्च रक्तचापका बिरामीहरुका लागि पनि सातुको सेवन लाभदायक मानिन्छ। सातुमा कागतिको थोरै रस, नुन, पानी र जीरा मिश्रण गरेर सेवन गर्नुपर्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *