विश्व युथ च्याम्पियनसिप खेल्न नेपाली चेस खेलाडी अल्बानिया प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालका दुई युवा चेस खेलाडी फिडे वर्ल्ड युथ चेस च्याम्पियनसिप २०२५ मा प्रतिस्पर्धा गर्न अल्बानिया प्रस्थान गरेका छन्।
  • प्रतियोगितामा नेपालसहित ८० राष्ट्रका ७२० खेलाडी सहभागी हुनेछन् र खेल ११ चरणको स्विस प्रणालीमा सञ्चालन हुनेछ।
  • नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनले त्रिभुवन विमानस्थलमा खेलाडीहरूको बिदाइ गरे।

१६ असोज, काठमाडौं । नेपालका उदीयमान दुई युवा चेस खेलाडी सिएम पुरुषोत्तम सिलवाल र एआइएम अभीक शाह अल्बानिया स्थित डुरेस प्रस्थान गरेका छन्।

उनीहरूले अक्टोबर ३ देखि १६ सम्म सञ्चालन हुने फिडे वर्ल्ड युथ चेस च्याम्पियनसिप २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

उक्त प्रतिष्ठित विश्व युवाहरुको चेस प्रतिस्पर्धामा नेपाल सहित विश्वभर ८० राष्ट्रका जम्मा ७२० जना खेलाडीहरू सहभागी रहने निश्चित भएको छ।

क्लासिकल स्पर्धा अन्तर्गत यूवा–१४, यूवा–१६ र यूवा–१८ वर्ष फरक उमेर समूहमा विभाजित रहेर ११ चरणको स्विस प्रणालीमा सञ्चालन गरिनेछ।

स्टान्डर्ड चेस प्रतिस्पर्धामा प्रत्येक खेलाडीलाई पहिलो ४० चालका लागि ९० मिनेट, बाँकी खेलका लागि थप ३० मिनेट र शुरु देखिनै हरेक चालमा ३० सेकेन्ड इन्क्रिजमेन्ट समय प्रदान गरिने छ।

युवा १८ वर्ष मुनिको समूहमा पहिलो वरियता प्राप्त पोल्यान्डका २५२४ रेटेड खेलाडी ग्रान्ड मास्टर क्लिमकोवस्कि सहित सयौं सयौं टाइटल होल्डर खेलाडीहरूसँग २२९औं वरियतामा रहेर नेपालका २१२९ रेटेड फिडे मास्टर पुरुषोत्तम सिलवालले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै ४२५ औं वरियतामा यूवा–१६ वर्ष मुनि उमेर समूहमा रहेर अर्का नेपाली १९२८ रेटेड खेलाडी एआइएम अभीक शाहले प्रतिस्पर्धा गर्नेछन्।

शुक्रबार देखि अल्बानियामा शुरु हुने ऐतिहासिक वर्ल्ड युथ चेस प्रतिस्पर्धाका लागि त्यसतर्फ प्रस्थानको अवसरमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन्।

विश्व बुद्धिचाल महासंघ (फिडे) र अल्बानिया चेस महासंघ (एसिएफ)को संयुक्त आयोजनामा सञ्चालन हुने प्रतिस्पर्धामा नेपालका दुबै खेलाडीले आफ्नो लगनशीलता, प्रतिबद्धता र क्षमताका माध्यमबाट नेपालको नाम विश्व चेस जगतमा गौरवान्वित बनाउने छ, महर्जनले विश्वास व्यक्त गरेका छन्।

बिदाइको अवसरमा नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर राणाभाट, प्रवक्ता राजु ताम्राकार तथा खेलाडीका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *