रौतहट । हिन्दुहरूको आस्थाको केन्द्र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा अवस्थित नुनथर महादेव मन्दिर पछिल्लो समय अनियमितता र आपराधिक गतिविधिका कारण विवादमा परेको छ।
मधेस प्रदेशदेखि सीमावर्ती भारतीय भक्तजनहरूको धार्मिक आस्था र श्रद्धाको केन्द्र मानिने यो मन्दिरमा खुलेआम मासु काट्ने कार्यदेखि कर असुलीसम्मका गतिविधि भइरहेको भक्तजनहरूले आरोप छ ।
नुनथर महादेव स्थानमा हरेक वर्ष साउन र भदौ महिनामा हजारौँ बोलबम भक्तजन बागमती नदीबाट जल ल्याई भगवान् शिवको मूर्तिमा अर्पण गर्दै पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। मन्दिर छेउमै रहेको बागमती नदीबाट हजारौँ भक्तजनहरूले जल लागेर आराध्यदेव महादेव मन्दिरमा चढाउने गर्दछन्। तर पछिल्लो समय पवित्र स्थलको गरिमा मासिन थालेको भन्दै भक्तजन आक्रोशित बनेका छन्। जिल्लाकै धरोहरको रूपमा रहेको नुनथर महादेव मन्दिर व्यवस्थित गर्न कसैले चासो नदेखाएको पाइएको छ ।
मन्दिरमा पूजा गर्न जाने भक्तजनसँग प्रवेशद्वारमै कर उठाइने गरेको छ, जसलाई श्रद्धामाथिको खुला व्यापारको रूपमा आलोचना गरिएको छ। कटहरिया ५ का श्रद्धालु रामचन्द्र गोसाईंका अनुसार नुनथर महादेव मन्दिरमा जल चढाउन दर्शन गर्न जाँदा आफूलाई ठेकदारको मान्छे बताउनेहरुले जबरदस्ती पैसा लिने गर्दछन्।
मन्दिरको गेटभित्रै मासु र मदिरा बिक्री हुने गरेको स्थानीय सञ्चारकर्मी तेज विक्रम कार्कीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गरेका छन्। यसबारे नगरपालिका मौन बसेर राजस्व मात्र खोजेको कार्कीको आरोप रहेको छ।
साउन महिनामा सोमबार चढाइने भेटी पुजारीहरूको जीविकोपार्जनको आधार भए पनि उक्त रकम कसरी खर्च हुन्छ भन्नेबारे पारदर्शिता छैन। समितिमा कति जान्छ र व्यक्तिगत खल्तीमा कति, भन्ने लेखाजोखा सार्वजनिक छैन।
धार्मिक स्थलसँगै नुनथर एउटा पिकनिक स्पटको रुपमा समेत परिचित रहेको छ। उक्त स्थानमा दैनिक दर्जनौँ मानिस पिकनिक मनाउन, रमाईलो गर्न जाने गरेको पाइन्छ। तर पिकनिक भन्दा पनि नुनथर महादेव मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा निकै परिचित रहेको छ।


