खानेपानी मन्त्री यादवसँग चर्को स्वरमा बोलेको आरोपमा पक्राउ परेकी साहलाई ३ दिन म्याद थप

वीरगञ्ज : खानेपानी मन्त्री प्रदीप यादवसँग चर्को स्वरमा कुरा गर्ने कारण पक्राउ परेकी किरण साहमाथि प्रहरीले तीन वटा मुद्दा दर्ता गरेको छ ।

पर्सा प्रहरीका प्रवक्ता एवम् डीएसपी किशोर लम्सालका अनुसार खानेपानी मन्त्रीका स्वकीय अधिकृत हरिन्द्र साहले किरणविरुद्ध जाहेरी दिएका थिए ।

टिकटकरसमेत रहेकी साहमाथि प्रहरीले विद्युतीय कारोबारसम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिन नहुने कसुर र अर्को अफवाह फैलाएको सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको प्रवक्ता लम्सालले जानकारी दिए ।

तीनवटै कसुरमा पर्सा जिल्ला अदालतबाट साहमाथि तीन दिनको म्यादसमेत थप भइसकेको प्रहरीले जनाएको छ ।

शनिबारदेखि प्रहरी हिरासतमा रहेकी साहमाथि अदालतबाट म्याद थप भइसकेपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

घटना के हो ?

शुक्रबार राति सामाजिक सञ्जालमा एउटा अडियो भाइरल बन्यो, जहाँ खानेपानी मन्त्री यादव र साहबिच कुराकानी छ । उक्त अडियोमा साहले कडा शब्दमा मन्त्री यादवलाई वीरगञ्जमा फैलिएको हैजाबारे प्रश्न गरेकी छन् ।

उनले खानेपानी मन्त्रीलाई फोन गरेर हैजासंग सम्बन्धित समस्याबारे जानकारी गराउन खोजेकी थिइन् । तर पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको उक्त अडियो सुनिन्छ ।

खानेपानी मन्त्रीको फोन रिसिभ भएपछि उनले सुरुमै अपने फोन काहे नइखी उठावत ? (तपाइँले फोन किन रिसिभ गर्नुभएको छैन?) प्रश्न गरेकी छन् । त्यसपछि तपाइँ प्रदीपज्यू बोल्नु भएको हो भनेर तारन्तार प्रश्न गरेको सुनिन्छ ।

‘खानेपानी मन्त्री प्रदीपज्यू बोल्नुभएको हो ?’ उनले तारान्तार प्रश्न गर्छिन् । मन्त्री यादवले ‘हो’ भनेपछि साहको आक्रोशमिश्रित प्रश्नहरू सुरु हुन्छन् ।

उक्त अडियोमा सुनिन्छ– ‘वीरगञ्जमा कति जनाको हैजाका कारण मृत्यु भयो ? तपाईंहरूले पानी वितरण गर्नुभयो, के जाँच गरेर पानी दिनुभयो ? त्यो कारणले अहिले धेरै मान्छे अस्पतालमा भर्ना छन्, मेरै घरको मान्छे आयूसीयूमा भर्ना छन् । म तपाईंलाई छोडदिनँ, डर लाग्दैन ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *