खानेपानी मन्त्री यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेको आरोपमा एक महिला पक्राउ

वीरगञ्ज : खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेको, धम्क्याएको आरोपमा पर्सा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

स्थानीय किरण साहले मन्त्री यादवलाई फोनमार्फत जानकारी गराउँदै वीरगञ्जमा फैलिएको हैजा किन नियन्त्रण गर्न नसकेको ? पानी परीक्षण नगरी किन वितरण गरेको लगायत प्रश्न गरेकी थिइन् । उनै साहलाई वीरगञ्जको मुर्लीबाट शनिबार पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए । उनका अनुसार खानेपानीको सचिवालयले आज प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा साहलाई प्रहरीले नियन्त्रण लिएको हो ।

साहविरुद्ध साइबर अपराधअन्तर्गत उजुरी परेकाले सोधपुछ चलिरहेको उनले बताए ।

घटना के हो ?

शुक्रबार राति सामाजिक सञ्जालमा एउटा अडियो भाइरल बन्यो, जहाँ खानेपानी मन्त्री यादव र साहबिच कुराकानी छ । उक्त अडियोमा साहले कडा शब्दमा मन्त्री यादवलाई वीरगञ्जमा फैलिएको हैजाबारे प्रश्न गरेकी छन् ।

उनले खानेपानी मन्त्रीलाई फोन गरेर हैजासंग सम्बन्धित समस्याबारे जानकारी गराउन खोजेकी थिइन् । तर पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको उक्त अडियो सुनिन्छ ।

खानेपानी मन्त्रीको फोन रिसिभ भएपछि उनले सुरुमै अपने फोन काहे नइखी उठावत ? (तपाइँले फोन किन रिसिभ गर्नुभएको छैन?) प्रश्न गरेकी छन् । त्यसपछि तपाइँ प्रदीपज्यू बोल्नु भएको हो भनेर तारन्तार प्रश्न गरेको सुनिन्छ ।

‘खानेपानी मन्त्री प्रदीपज्यू बोल्नुभएको हो ?’ उनले तारान्तार प्रश्न गर्छिन् । मन्त्री यादवले ‘हो’ भनेपछि साहको आक्रोशमिश्रित प्रश्नहरू सुरु हुन्छन् ।

उक्त अडियोमा सुनिन्छ– ‘वीरगञ्जमा कति जनाको हैजाका कारण मृत्यु भयो ? तपाईंहरूले पानी वितरण गर्नुभयो, के जाँच गरेर पानी दिनुभयो ? त्यो कारणले अहिले धेरै मान्छे अस्पतालमा भर्ना छन्, मेरै घरको मान्छे आयूसीयूमा भर्ना छन् । म तपाईंलाई छोडदिनँ, डर लाग्दैन ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *