आज हर्षोल्लासपूर्वक तीज पर्व मनाइँदै

लालबन्दी : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्।

भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ।

सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।

सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने विधान छ। धर्मशास्त्री प्रा।डा। रामचन्द्र गौतमले निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताए। ‘सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ’, उनले भने।भोलिपल्ट सबेरै ‘लोापामुद्रा’लाई अर्घ्य दिएपछि तीजको व्रत पूर्ण भएको मानिन्छ।

विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ। अटल सौभाग्य र असल सन्तान प्राप्तिको कामनासहित विवाहितले तथा असल वर तथा वधुप्राप्तिका लागि अविवाहितले ​पनि तीजको व्रत बस्ने विधान रहेको धर्मशास्त्री ​प्राडा देवमणि भट्टराईले बताए। व्रतलाई संकुचित अर्थमा लिन नहुने उनको भनाइ छ।

काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ।

तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनी एकै थलोमा जम्मा हुने र अघिल्लो दिन बेलुकी ‘दर’ खाने चलन छ। वर्षभर घरव्यवहारमा भोगेका दुःखकष्ट सामूहिकरूपमा पोखेर उनीहरू नाचगान गर्छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *