प्रतिनिधिसभा बैठक आज बस्दै यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउनेछन् ।

चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्नेछन् ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची पनि छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित माननीय सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। आजै राति १२ बजेबाट हिउँदे अधिवेशनको अन्त्य हुँदैछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *