नयाँ सत्ता समीकरणको समीक्षा गरिने, मुख्यमन्त्री बाँडफाँटबारे निर्णय लिने

काठमाडौं : प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्रले फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि पहिलो पटक स्थायी समितिको बैठक बोलाएको छ।

नेकपा एमालेसहित पाँच दलको गठबन्धन बनेपछि त्यसबारे समीक्षा र प्रदेश सरकार बाँडफाँटको निर्णय गर्न शुक्रबार बिहान ११ बजे बैठक डाकिएको एक पदाधिकारीले जानकारी दिए।

उनका अनुसार बैठक मुख्य रुपमा एमालेसँगको गठबन्धनको समीक्षा गर्न केन्द्रित हुनेछ। फागुन २१ गते एमाले–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)बीच नयाँ गठबन्धन बनेको हो। एमालेसँग पार्टी एकता गर्नेसम्मको समझदारी जुटेको नेताहरूले दाबी गरिरहेका बेला माओवादीको बैठक बस्न लागेको हो। 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे स्थायी समितिमा ब्रिफिङ गर्नेछन्। यस्तै, बैठकले विधानलाई अन्तिम रुप दिनेछ। 

‘भोलिको स्थायी समिति बैठकमा प्रदेश हेरफेर र माओवादीले लिने प्रदेशका मुख्यमन्त्रीका विषयमा छलफल हुन्छ,’ ती पदाधिकारीले भने, ‘नयाँ गठबन्धन बनेपछि सबै प्रदेशमा उथलपुथल र हेरफेर हुँदैछ। त्यसबारे हाम्रो पार्टीले पनि निर्णय गर्नुपर्छ।’ यसैगरी बैठकमा कार्यविभाजनमा छुट भएकालाई नयाँ जिम्मेवारी दिनेबारे निर्णय गर्नेछ।

यसअघि माओवादीको फागुन १–३ मा काठमाडौंमा भएको बिधान सम्मेलनले पदाधिकारी बिधान निर्माण गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *