देश खरानीमाथि उभिएको छ, सास थामेर पाइला चालौं – Online Khabar

News Summary

Generated by OK AI. Editorially reviewed.

  • ०८२ सालको जेनजी आन्दोलनले राजनीतिक दलहरू र नेताहरूलाई विस्थापित गरेको छ र यसको प्रभाव भविष्यमा स्पष्ट हुनेछ।
  • भदौ २४ गतेको घटनापछि देश राजनीतिक शून्यतामा पुगेको छ र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले केही स्थिरता ल्याएको छ।
  • जेनजी आन्दोलनले शहीदको बलिदानलाई संस्थागत गर्दै संविधानका चार खम्बा रक्षा गर्ने जिम्मेवारी लिएको छ।

‘जेनजी विद्रोह’को तापसँगै भित्रिएको दशैँ नसकिँदै अत्यधिक वर्षा र बाढीपहिरोले फेरि नेपालीको घाउमा नुनचुक थप्यो। राजनीतिमा अझै भविष्यको सुस्पष्ट मार्गचित्र ठम्याउन अप्ठ्यारो परिरहेको वेला मनलाई ढुकचुक–ढुकचुक पार्दै केही कुरा लेखिरहेको छु।

इतिहासको पृष्ठभूमितिर फर्कौं। ००७ सालको क्रान्तिले वीपी कोइरालाहरूलाई नेतृत्वमा लिएर आयो। ०१७ सालले राजा महेन्द्रलाई उदय गरायो। ०३६ सालले विद्यार्थी राजनीतिमा केही युवा नेताहरूको उदय भयो।

०४६ सालले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मदन भण्डारीहरू लिएर आयो। ०६२–०६३ सालमा गणतन्त्रसँगै प्रचण्डको उदय खुला राजनीतिमा भयो।

यी सबै आन्दोलन वा कदमले कुनै न कुनै बिम्बमा नेतृत्वलाई पनि स्थापित गर्‍यो। संविधान निर्माणसँगै ०७२ सालपछि केपी ओलीको उदय भयो। मनभित्र प्रश्न उठिरहेको छ, ०८२ को जेनजी आन्दोलनले कसलाई कुन बिम्बमा अगाडि ल्यायो? अहिले नै भन्न सकिन्न, तर भविष्यमा सकिएला।

प्रायः क्रान्ति, विद्रोह वा आन्दोलनले राजनीतिक दलसँगै नेतृत्व गर्ने नेताहरूलाई स्थापित गर्छ। तर, अनौठो कुरा- नेपालको जेनजी विद्रोहले राजनीतिक पार्टी मात्र होइन, धेरै पार्टीहरूका जखमले नेताहरूलाई पनि एकसाथ विस्थापित गरिदिएको छ।

अन्तर्राष्ट्रिय रूपमा पनि निक्कै दुर्लभ, राजनीतिक र समाजशास्त्रीय दृष्टिकोणबाट पनि आश्चर्यजनक उक्त घटनाले पर्याप्त विषयहरूको उद्घाटन गरेको छ। अनुसन्धानयोग्य यस विषयलाई अध्येताहरूले भविष्यमा अध्ययन अनुसन्धान गर्दै थप रहस्यहरू उजागर गर्दैजालान्।

लोकतन्त्रलाई सुदृढ, मर्यादित र जवाफदेही बनाउन खासगरी राजनीतिक प्रणालीको सुधार, नेताहरूको भ्रष्ट जीवनशैलीविरुद्ध नितान्त पवित्र उद्देश्यबाट शान्तिपूर्ण रूपमा प्रारम्भ भएको ‘जेनजी प्रदर्शन’ अन्ततः रगत बगाएर यहाँसम्म आएको छ। भदौ २३ गते अपरान्हको समयसम्म जेनजी प्रदर्शन राजनीतिलाई सफा, पारदर्शी बनाउन र पुराना नेताहरूप्रतिको खबरदारीको तहमा मात्र सीमित थियो।

एक्कासि बादल फाटेर उत्पात वर्षा भएजस्तै मुलुकमाथि अकल्पनीय महाविपत्ति आइलाग्यो। जब प्रदर्शनले इतिहासका कीर्तिमानहरूलाई भत्काउँदै एकाएक काठमाडौँको बानेश्वर क्षेत्र रक्तपातपूर्ण लडाइँको केन्द्रबिन्दूमा परिणत भयो।

लोकतन्त्रकै मन्दिर मानिने संघीय संसद भवनको ढोकाअघि विद्यालय पोशाकमा उभिएका निहत्था बालबालिकाहरूको गोली प्रहारद्वारा निर्ममतापूर्वक हत्या भयो। त्यो भयानक घटनापश्चात् नागरिकमा दुई वटा अनुमान थिए। एक, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट आत्मपश्चाताप र केही प्रतिबद्धतासहित जिम्मेवारीपूर्वक जनतासँग माफी माग्दै राजीनामा आउँछ।

दुई, आफूलाई लोकतन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेस र संसदीय राजनीतिमा त्यसको अनुभवी नेता शेरबहादुर देउवाबाट केपी सरकारप्रति गरिएको समर्थन निःशर्त फिर्ता हुन्छ। बिडम्बना, दुवै हुन सकेन। परिणामतः भदौ २४ गते देश धुवाँमय भयो। विपनामै ऐँठन परेजस्तो परिस्थितिमा नेपालीहरूको भविष्य नै अब के होला भन्ने प्रश्नहरूमा रुमलियो। अनुमान गर्नै पनि मुस्किल थियो।

ओली बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टर चढेर लखेटिएको दृश्यले बंगलादेश र शेख हसिनाको झल्को दिलाउँथ्यो। घटनालाई समयसँग तुलना गरेर हेर्दा आफ्नै निवासभित्र ‘देउवा दम्पती’को अवस्था फ्रान्सेली क्रान्तिमा लुइस सोह्रौँको टाउको काटिएको क्षणभन्दा कम थिएन।

यी यस्ता दृश्यसँगै सबै दलका प्रमुख नेताहरूको भागदौड मच्चिएपछि एक ढंगले देश राजनीतिक शून्यतामा परिणत भएको जगजाहेरै छ। नेपाली समाजमा प्रचलित उखान- ‘भिरको चिण्डो उँधो न उँभो’ जस्तै अवस्था रहेको वेला इतिहासले हामीलाई फेरि एउटा सानो टेक्ने ठाउँ तर ठूलो अवसरको रूपमा छोडेर गएको छ।

इतिहासको अत्यन्तै जोखिमपूर्ण क्षणमा खरानीको जगमाथि उभिएको देशलाई उठाउन छातीभित्र सास थामेर पाइला चाल्नु पर्नेछ। यस्तो बेला हुन जाने सानो गल्तीले देश असफलताको चक्रभित्र कहिल्यै निस्कन नसक्ने गरी फस्न पनि सक्छ।

जसले जे अर्थ लगाए पनि अन्तरिम सरकार बन्न थप केही दिन ढिलो हुन गएको भए स्वार्थ समूह र शक्तिकेन्द्रको लागि खेलमैदान अझ फराकिलो हुँदै जाने निश्चित थियो। सकारात्मक भन्नुपर्छ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको गठनले मैदानलाई केही साँघुरो पारिदिएको अवश्य हो। फेरि यसको अर्थ यो होइन कि हामी सामु खडा भएको चुनौती अन्त्य भइसकेको भन्न मिल्दैन।

आम नेपाली राजनीतिमा एउटा भाष्य जबरजस्ती स्थापित गरिएको छ- सरकार आफ्नो पक्षमा बन्यो भने मेरो बुत्ता र बहादुरीले गर्दा बन्यो; सरकार ढल्यो भनेचाहिँ विदेशी शक्तिको चलखेलले गर्दा ढल्यो भन्ने गरिन्छ।

यदि यसो हो भने ‘आफ्नो थैलीको मुख बन्दिलोसँग बाँध्नु, साथीलाई चोर नलगाउनु’ भन्ने पूर्खाको उखानलाई बलियोसँग आत्मसात् गरौँ। घरको ढोका खोलिदिएर भान्सा कोठासम्म भित्राउने आत्मबेचुवा प्रवृत्तिसँगै अब सतर्क हुनैपर्छ।

समयले पुराना नेताहरूलाई अस्वीकार गरिसकेको छ। यो वेला जेनजीप्रति पनि विश्वासको संकट बढ्यो भने परिस्थितिको सहज पूर्वानुमान गर्न कठिन हुन्छ। यतिवेला जेनजीको काँधमा प्रमुख दुई वटा जिम्मेवारी छ।

एक, शहीदको बलिदानलाई संस्थागत गर्ने र दुई, संविधानका चार खम्बा (गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता र धर्मनिरपेक्षता) को रक्षा गर्दै प्रगतिशील राष्ट्रिय संस्कृतिको निर्माण गर्ने।

इतिहासको अत्यन्तै जोखिमपूर्ण क्षणमा खरानीको जगमाथि उभिएको देशलाई उठाउन छातीभित्र सास थामेर पाइला चाल्नु पर्नेछ। यस्तो बेला हुन जाने सानो गल्तीले देश असफलताको चक्रभित्र कहिल्यै निस्कन नसक्ने गरी फस्न पनि सक्छ। सुडान, सोमालिया, सिरिया, यमन र अफगानिस्तान जस्तै असफल राष्ट्रको सूचीमा अंकित हुन बेर लाग्दैन।

यस्तो वेला राज्यले आफ्नो आधारभूत दायित्व गुमाउँछ। आफ्नो सार्वभौमिक सत्ता खतरामा पर्छ। चरम आर्थिक संकट सिर्जना हुन्छ। कानुनी राज्यको अवधारणा कमजोर बन्छ। अपराध, तस्करी र माफियातन्त्र अकल्पनीय रूपमा मौलाउँछ। अस्थिरताको बिचमा साम्प्रदायिक र धार्मिक अराजकताले देश विखण्डनको बाटो हुँदै बहुआयामिक द्वन्द्वमा फस्न सक्छ। देश असफल भयो भने व्यक्ति र पुस्ता किमार्थ सफल हुन सक्दैन। यतिवेला राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविताको अंश स्मरण हुन्छः

‘नेपाली हामी रहौँला कहाँ? नेपालै नरहे।

उचाइ हाम्रो चुलिन्छ कहाँ? हिमालै नरहे।’

समन्वय गरिरहनु भएका जेनजी आन्दोलनका अगुवाहरूलाई विनम्रताका साथ भन्छु कि राजनीति भनेको देशको निम्ति हो। आग्रह–पूर्वाग्रहबाट माथि उठेर वार्ता र संवादलाई घनिभूत बनाउनुहोस्।

नयाँ पुस्ताको जोस, जाँगर र चेतनालाई अग्रज पुस्ताका सकारात्मक अनुभवहरूसित संयोजन गर्नैपर्ने हुन्छ। संघर्षले स्थापित गरेको एजेन्डाप्रति केन्द्रित हुनुहोस्। लोकतन्त्रको आत्मा भनेको संविधानवाद र निर्वाचन हो। तोकिएको मितिमा निर्वाचन गराउनलाई सक्रियतापूर्वक पहल बढाउनुहोस्। संविधानको मर्मलाई सम्मान गर्नुहोस्।

सांस्कृतिक विविधतायुक्त समाजमा हुर्केको मनोविज्ञानले सामूहिक र संस्थागत काम गर्दा निश्चय नै मतभेद हुन सक्छ र त्यो स्वाभाविक पनि हो। नेपाली भूगोलका भाषा, समुदाय र संस्कृतिहरूका विविध आयामहरूलाई साझा नगरी असली नेपालीपन जाग्न सक्दैन। यसका लागि बहुआयामिक दृष्टि सधैं आवश्यक हुन्छ। तर, तपाईंहरूको बिचमा मतभेद नहोस्।

धमिलो पानीमा माछा मार्न खोज्ने तत्वहरू मौका पर्खेर बसेका छन् भन्ने पनि नभुल्नुहोस्। त्यस्ता प्रवृत्तिले टाउको उठाउने दुस्साहस नगरोस्। भनिन्छ- मरेकाहरूबाट बाँच्नेहरूले सिकेनन् भने बाँचेको अर्थ पनि हुँदैन। फेरि तपाईंहरूको पुस्ता अर्थहीन ढंगले बाँच्नु हुँदैन।

रगतमाथि पाइला टेकेर जेनजीले विद्रोह गर्नुपर्ने बाध्यात्मक परिस्थितिप्रति हाम्रो पुस्ता (मिलेनियम) को पनि कमजोरी छ। हामीले हामी आवद्ध दलहरूलाई समय छँदै रूपान्तरण गर्न सकेनौँ। आफ्नो तहबाट कोशिस गर्दा पनि परिणाम निकाल्न सकेनौँ। त्यसको निम्ति क्षमा चाहन्छौँ। हामीले पनि बुझेका छौँ- दलहरू भन्दामाथि हाम्रो देश छ। देशको निम्ति सुन्दर शहीदको सपना छ।

हाम्रो आँखा अगाडि यति ठूलो देशले व्यहोर्नु परेको क्षतिबाट हामी आवद्ध दलहरूमा नतिजासहितको रूपान्तरण हुनैपर्छ। आमनागरिकलाई अनुभूति हुने गरी व्यवहारगत रूपान्तरण हुन नसकेर फेरि पनि ढुंग्रोमा राखिएको कुकुरको पुच्छरजस्तै भयो भने हाम्रो पुस्ताले पनि निःसंकोच सोच्नै पर्ने हुन्छ।

पार्टी र सिद्धान्तलाई निश्चित समय मूलतवीमा राखेर लोकतन्त्रलाई सुदृढ र मर्यादित बनाउँदै शहीदको सपनालाई साकार पार्न सबैले एकसाथ बल लगाउने दिन पनि आउन सक्छ। अब उप्रान्त इतिहासमा सकारात्मक योगदान गरेका अग्रज पुस्तालाई सम्मान गरौँ। नयाँ पुस्तालाई स्वागत र सहकार्य गर्दै पुरानाको अनुभव र नयाँको जोस, जाँगरलाई जोड्न हाम्रो पुस्ता पुल बन्न तयार हुनैपर्छ।

यो बुद्धभूमिमा शान्ति कायम गरौँ। समृद्धिको बाटोमा अघि बढौँ। विश्वसामु सगरमाथाजस्तै अग्लो नेपालको परिचय प्रस्तुत गरौँ। अब देश बनाउन ज्यान होइन, जीवन दिऊँ। अहिलेसम्म राजनीतिक परिवर्तनको लागि हजारौँ सपूतहरूले ज्यान दिए। उहाँहरू महान् शहीद हुनुभयो।

अब, समृद्धिको लागि हिजोको अनुभवबाट सिक्दै ज्ञान, सीप र श्रमको उच्चतम प्रयोग गरौँ। एक देशभक्त नेपालीको निम्ति राष्ट्र प्राणभन्दा प्यारो छ। हामीलाई भ्रष्टाचार, गरिबी र अशिक्षा अस्विकार्य छ। कवि भूपि शेरचनको कविताको यो हरफ नभुलौँः

हामीले खाने प्रत्येक गाँसमा छ रगत शहीदको,

हामीले फेर्ने प्रत्येक सासमा छ रगत शहीदको।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *