लालबन्दी । सर्लाही जिल्लाको मलंगवा नगरपालिका–५ भाडसरस्थित लखनदेही खोलामा नुहाउने क्रममा डुबेर बेपता भएका एक १८ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा भाडसरकै बिनोद ठाकुरका छोरा अन्दाजी १८ वर्षीय ओम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
असोज २१ गते सोमबार करिब ११:३० बजेतिर ओम ठाकुर आफ्ना तीन साथीहरुसँग लखनदेही खोलाको बाँध नजिक नुहाउन गएका थिए । नुहाउने क्रममा खोलाको पानीको बहावले चारै जनालाई बगाएको थियो । बगाइएकामध्ये तीन जना साथीहरु सकुशल बाहिर निस्कन सफल भए पनि ओम ठाकुरलाई भने खोलाले बगाएर बेपता बनाएको थियो ।
घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी चौकी भाडसरबाट प्रहरी सहायक निरीक्षक जलन्धर यादबको कमाण्डमा तत्काल प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी टोली र स्थानीयको सहयोगमा खोजी कार्य जारी राखिएकोमा बेपता भएका ठाकुर १ बजे सोही स्थानमा पानीमाथि तैरिएको अवस्थामा फेला परेका थिए ।
प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने पहल गरेको थियो ।
अस्पताल पुर्याइएपछि थप उपचारका लागि चेकजाँच गर्दा सोही दिन साढे २ बजेतिर डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी भाडसरबाट करिब १ किलोमिटर पश्चिममा पर्दछ ।
मृतकसम्बन्धमा थप कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।