लालबन्दी । मेडिकल पसलको आडमा लागुऔषध कारोबार गर्ने एक संचालकलाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका सई तुल प्रसाद पुडासैनीको कमाण्डमा खटिएको टोलीले चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा गरिएको छापामारीका क्रममा साहले मेडिकल पसलमार्फत प्रतिबन्धित लागुऔषध ट्रामाडोल बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। टोलीले साहको पसल र घर दुबै ठाउँमा अनुसन्धान गर्दा ठूलो मात्रामा लागुऔषध बरामद भएको छ।
घटनाको क्रममा प्रहरी टोलीले ना.३३ प. ९५३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा साहकै साथबाट ट्रामाडोल ३०० पत्ता, ३,००० पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
बरामद मोटरसाइकल, लागुऔषध र व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरी पोष्ट चन्द्रनिगाहपुर तल्लो बजारमा ल्याई थप अनुसन्धान भइरहेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमा साहले मेडिकल व्यवसायको आडमा लामो समयदेखि ड्रग्स बिक्री गर्दै आएको आशंका गरिएको छ।


