पर्सा : वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको छ ।
वीरगञ्ज महानगरपालिकामा हैजा रोगका बिरामी भेटिएपछि त्यहाँको खानेपानी परीक्षणका लागि टोली खटिएको र टोलीले पानी परीक्षणको कार्य सुरु गरिरएको खानेपानी मन्त्री प्रदीप यादवले बताए ।
‘तराई–मधेस सहित वीरगञ्ज क्षेत्रमा खानेपानीको समस्या छ । यति बेला वीरगञ्जमा हैजाका बिरामीहरू देखिनु निकै चिन्ताको विषय हो । हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न टोली खटाएका छौँ,’ मन्त्री यादवले भने ।
मन्त्री यादव पनि अहिले हैजा प्रभावित क्षेत्रमा पुगेका छन् । उनले मुर्लीलगायत क्षेत्रहरू तथा नागराणी अपस्तामा पुगेर उपचाररत बिरामीको अवस्था खानेपानीको स्रोत, सरसफाइ र ढल व्यवस्थापनको अवस्था अध्ययन गरेका उनको सचिवालयले जनाएको छ ।
स्थानीय अधिकारीहरूसँग समन्वय गरी मन्त्री यादवले हैजा नियन्त्रणका लागि प्रभावकारी उपायहरू तत्काल लागु गर्न निर्देशन दिएका छन् ।
हैजा प्रभावित क्षेत्रमा फैलिन सक्ने सम्भावना भएकाले पानी शुद्धीकरणका लागि ‘पियुष’ लगायतका आवश्यक सामग्रीहरू सहितको टोली तत्कालै वीरगञ्ज पठाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।


