काठमाडौं । विश्वका धेरै देशहरूमा पुराना परम्पराहरू अझै पनि चलिआएका छन्। यस्ता परम्पराहरू कतिपय अवस्थामा अनौठा र डरलाग्दा लाग्न सक्छन्। तर ती परम्पराहरू सम्बन्धित समुदायका लागि महत्वपूर्ण हुन्छन्। त्यस्तै इन्डोनेसियाको दानी आदिवासी समुदायमा आफन्तको मृत्युमा महिलाले औंला काट्ने अनौठो परम्परा छ।
इन्डोनेसियाको दानी आदिवासी समुदायमा एक विशेष परम्परा छ। परिवारका कुनै सदस्यको मृत्यु हुँदा महिलाहरूले आफ्नो औंलाको माथिल्लो भाग काट्छन्। यो परम्परा मृतकको सम्मान र शोक प्रकट गर्नको लागि गरिन्छ।
दानी समुदायका महिलाहरू प्रियजनलाई गुमाउँदाको अथाह पीडा देखाउनको लागि आफ्नो औंला काट्छन्। यो परम्परा निकै क्रुर र अमानवीय भएतापनि उनीहरूको संस्कारको हिस्सा हो। त्यसैले उनीहरू जीवनभरि आफ्ना विभिन्न औंला काटेका हुन्छन्। आफन्तको मृत्युमा महिलाले औंला काट्ने अनौठो परम्परा पुर्खा देखि चली आएको हो ।
सिंगापुरका फोटोग्राफर तेह हान लिनले चार दिनसम्म दानी समुदायका तस्वीर खिचेका छन्। उनले दानी समुदायको अनौठो जीवनशैली र परम्परागत पहिरनलाई नजिकबाट अध्ययन गरेका छन्। यो समुदाय सन् १९३८ मा अमेरिकी खोजकर्ता रिचार्ड आर्चबोल्डले पहिलोपटक पत्ता लगाएका थिए।
इन्डोनेसियाली सरकारले यो परम्परालाई गैरकानुनी घोषित गरेको छ। तर पनि दानी समुदायमा यो परम्परा अझै कायम छ। फोटोग्राफर हानका अनुसार यो परम्परा रोकिएको छैन र उनीहरूको भावनात्मक अभिव्यक्तिको महत्वपूर्ण माध्यम हो।


