काठमाडौ : पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन्। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार दर्शनार्थीको सङ्ख्या बढ्दै गएकाले सबैले बिहानको समयमा सहजै दर्शन गर्न पाउन भन्ने उद्देश्यले आजदेखि मन्दिरका चारवटै ढोका बिहान ४ बजे खोल्न थालिएको हो।
यसअघि, भट्टहरु प्रवेश गरेपछि मात्र बिहान ८ः३० बजे बाँकी तीन ढोका खोलिने गरेको थियो। चारवटै ढोका बिहान ४ बजे नै खुला भएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न सहज भएको अधिकारीले जानकारी दिनुभयो।
अहिलेसम्म पश्चिमतर्फको ढोका बिहान ४ बजे खोलिने र अन्य तीन ढोका बिहान ९ः३० देखि ११ः३० बजेसम्म मात्र खुला हुने गरेको थियो। महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै चारवटै ढोका बिहान ४ बजे खोल्ने गरिएको थियो।


