उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिलेका देशका मुद्दालाई साझा सहमति गरेर समाधान गर्नुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपालले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै जनताका मुद्दाले संसद्मा प्राथमिकता पाउनुपर्नेमा प्रतिपक्षी दलको प्रस्तुति अशोभनीय भएको आरोप लगाए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेतासमेत रहेका मन्त्री भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अत्यन्त सम्भावना र आशा बोकेको जनाउँदै, नीति तथा कार्यक्रमअनुसार सरकारले बजेटको तयारी गरिरहेको बताए।सहकारीका प्रसङ्गमा उनले सहकारी पीडितलाई न्याय दिने कानुनको अभाव रहेको बताए। उनले पहिला कानुन बनाउनुपर्ने र कानुन बनाइसकेपछि दोषीलाई कानुनी कारबाही गर्न सकिने स्पष्ट पारे।
अर्को प्रसङ्गमा मन्त्री भण्डारीले ऐनको अभावले बजेट खर्च हुन नसक्ने समस्या लामो समयदेखि रहँदै आएको उल्लेख गरे। यस समस्याको समाधानका लागि आवश्यक कानुन बनाउनुपर्नेमा उनले जोड दिए।


