नेपाल बैंक लिमिटेडको फत्तेपुर शाखाका सुरक्षा गार्डको हत्यामा संलग्न रहेको आरोपि प्रकाउ

नेपाल बैंक लिमिटेड

काठमाडौँ : नेपाल बैंक लिमिटेडको सप्तरी फत्तेपुर शाखाका सुरक्षा गार्डको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको तालिमप्राप्त कुकुरसहितको टोलीले सप्तकोशी नगरपालिका वडा नम्बर ५ बस्ने चन्द्रबहादुर सुवेदीलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उक्त बैंकको सीसीटीभी फुटेजका आधारमा चितवन प्रहरीको सहयोगमा हिजो वैशाख २९ गते पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको खुकुरी, अभियुक्तले बोकेको झोला, पञ्जा, जुत्ता, टोपी, सल, हेक्सो ब्लेड, रिन्च, पिलास, डोरी, रडलगायत बरामद गरेको थियो।

सप्तकोशी नगरपालिका २ का ५५ वर्षीय पर्शुराम फुयाँल बिहीबार बिहान ७ बजे बैंकको गार्ड कोठाभित्रै मृत भेटिएका थिए। उच्च रक्तचापका कारण मृत्यु भएको आशंका गरिएका फुयाँलको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको थियो। ८ वर्षदेखि बैंकमा सुरक्षा गार्ड रहेका उनी करिब ७ बजे सुतेकै ठाउँमा मृत फेला परेका थिए।

शवको वरिपरि रगतका टाटा देखिएका कारण फुयाँलको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको थियो। बिहान अबेरसम्म गार्डको कोठा नखुलेपछि ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए। प्रहरी घटनास्थल पुगेर बैंकको सीसीटीभी फुटेज हेर्दा राति करिब १२ बजेपछि नकाबधारी व्यक्ति बैंकभित्र पसेको देखिएपछि घटना शंकास्पद बनेको थियो।

घटनापछि कोशी प्रदेश प्रहरी धरानबाट तालिम प्राप्त कुकुरको टोलीसहित अनुसन्धान थालिएको थियो। मृतक फुयाँलका श्रीमती २ छोरा र २ छोरी छन्। उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *