काठमाडौं । केन्द्रको सत्ता समीकरणमा आएको फेरबदलपछि प्रदेश सरकार ठूलो असर देखिएको छ ।
केही प्रदेशका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिएका छन् भने कतिपय प्रदेशका मुख्यमन्त्री फेरिन लागेका छन् । त्यसो त गत फागुन २१ गते सत्ता समीकरणमा आएको फेरबदलपछि माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरेर केन्द्र सरकारको नेतृत्वकर्ता दल माअोवादीलाई चुनौती दिएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफैँ राजीनामाको मनस्थिती बनाएका छन् ।
प्रदेशमा राजनीतिक खिचातानी बढिरहँदा मुख्यमन्त्री पाण्डेले राजीनामा दिने तयारी गरेका हुन् । त्यसका लागि आज उनले संसदीय दलको बैठक बोलाएर छलफल समेत गरेका थिए । सो छलफलमा पनि राजीनामा दिने विषयमा छलफल भएको पाण्डेका सचिवालयका एक सदस्यले जानकारी दिए । उनका अनुसार पाण्डेले मुख्यमन्त्रीबाट आज बुधबार राजीनामा दिन लागेका हुन् ।
‘हिजो संसदीय दलमा पनि सो विषयमा छलफल भएको थियो । त्यसअघि र पछि पनि उहाँले परामर्श र छलफल गरिरहनुभएको छ । सम्भवत आज राजीनामा दिनुहुन्छ ।’ ती सचिवालय सदस्यले भने । सत्ता गठबन्धनमा आवद्ध बाहेकका दलकै समर्थनमा मुख्यमन्त्रीमा टिक्न सक्ने सम्भावना बाँकी रहँदै पाण्डेले राजीनामा दिन लागेका हुन् ।


