ललितपुर महानगरद्वारा स्वास्थ्य बीमा कार्यक्रममार्फत् स्वास्थ्य सेवा शुरु

काठमाण्डौ – ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रममार्फत् स्वास्थ्य सेवा शुरु गरेको छ । महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालको सञ्चालन र व्यवस्थापनमा स्वास्थ्य सेवा हिजोदेखि शुरु गरेको हो । स्वास्थ्य सेवा पुल्चोकमा रहेको यल स्वास्थ्य सेवा केन्द्रबाट लिन सकिने महानगरले जनाएको छ ।  

महानगरका मेयर चिरीबाबु महर्जनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यबाट महानगरवासीले उत्कृष्ट सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भयोे ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेशलाल गंगोलले स्वास्थ्य बीमा कार्यक्रम मार्फत प्रवाह हुने सेवाले नागरिकको खर्च घटाउन र रोगका कारणले ऋणको भारी बोक्नुपर्ने अवस्था अन्त्य गर्न सहयोग गर्ने बताउनु भयो ।

यल स्वास्थ्य केन्द्रमा अहिले कर्मचारी र चिकित्सकसहित ५६ जना जनशक्तिको व्यवस्था गरिएको छ। आपत्कालीन सेवामा पाँच शय्या र बहिरङ्ग सेवामा पाँच शय्या रहेको स्वास्थ्य सेवा केन्द्रबाट दैनिक पाँच विशेषज्ञ सेवासहित २४ घन्टा सेवा प्रदान गरिनेछ ।

जनरल मेडिसिन, जनरल सर्जरी, प्रसूति, बालस्वास्थ्य र हाडजोर्नीको विशेषज्ञ सेवा प्रदान गर्ने महानगरले जनाएको छ । २०७२ चैत २५ गते कैलालीबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका सात सय ५३ वटै पालिकामा सञ्चालन भएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *