बारामा चिसोले जनजीवन प्रभावित, नियमित उडान २ सातादेखि अवरुद्ध

काठमाडौं । लगातार २ सातादेखि बढेको चिसो र शितलहरले बाराका स्थानीय गरिब र विपन्न परिवारहरू बढी प्रभावित भएका छन् ।  बिहानदेखि नै लागेको बाक्लो हुस्सु शितलहरसँगै दिनभर लागेको कुहिरोका कारण घाम नलागेपछि जनजीवन प्रभावित बन्न थालेको हो ।

सोही कारण सिमरा विमानस्थलबाट हुने नियमित उडान समेत २ सातादेखि प्रभावित भएको छ ।  सिमरा विमानस्थल मौसम शाखाका कर्मचारी प्रतिष्ठा अधिकारीले हुस्सु र शितलहरका कारण २ सातादेखि विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको बताएकी छन् ।

‘दुई हप्ता भयो छिटफुट बाहेक सबै हवाई उडान अवरुद्ध छ, अझै कति दिन यस्तै हुन्छ भन्न सकिँदैन’ अधिकारीले भनिन्, ‘हवाई उडान हुनलाई न्युनतम् २ हजार ५ सय भिजिबिलिटी चाहिन्छ तर आज भिजिबिलिटी एक हजार पनि पुगेन ।’ 

सिमरा विमानस्थलबाट दैनिक एक दर्जन बढी हवाई उडान हुने गर्दछ तर पछिल्लो २ सातादेखि छिटफुट बाहेक हवाई उडान ठप्प प्राय छ ।  सिमरा विमानस्थल मौसम शाखाका अनुसार यस वर्ष सबैभन्दा चिसो जनवरी १५ तारिकका दिन न्युनतम तापक्रम ५ दशमलव २ डिग्री रहेको थियो ।  यो साता न्युनतम् तापक्रम १० डिग्रीभन्दा कम छ भने उच्चतम तापक्रम १२ डिग्री रहेको छ । 

केही दिनदेखि लागेको बाक्लो कुहिरोसँगै चल्ने चिसो हावाले मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा सहरमा मानिसको चहलपहल निक्कै कम भएको छ । चिसोका कारण जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरू बन्द छन् ।

bara-cold (5)

परवानीपुर गाउँपालिका–५ का बौअरीका ७३ वर्षीय मोहनप्रसाद पटेलले जाडोमा कुनै नेताहरूले गरिब जनतालाई नहेरेको गुनासो गरे ।  ‘गरिब मान्छेलाई जाडोमा ओढ्ने चाहियो, खानलाई पेटमा रासन चाहियो, दाउरा चाहियो यो बाहेक अरू केही छैन, नेताहरूलाई  गरिब जनता मरोस् कि बाँचोस् केही मतलब छैन’ स्थानीय वृद्ध पटेलले भने, ‘पोहोर, परार साल दाउरा, कम्मल पनि बाँडेको थियो, अहिले केही छैन, हामीले कोसँग माग्न जाने ।’

कोल्हवी नगरपालिका १ की ७० वर्षीय पशुपति थारुले पनि जाडो बढेकोले गाउँमा बूढाबूढीहरूलाई धेरै गाह्रो भएको बताइन् । ‘हामी बुढाबुढी मान्छेलाई धेरै गाह्रो भएको छ, अहिलेसम्म कसैले केही सहयोग गरेको छैन’ थारुले भनिन् । पछिल्लो समय चिसो बढ्दै गएपछि डिभिजन वन कार्यालयले  बाराका ११ र पर्साको ४ वटा स्थानीय तहमार्फत आगो ताप्न दाउरा वितरण गरेको जनाएको छ ।

bara-cold (6)

वन अधिकृत नेपाली साहले बाराका ११ वटा स्थानीय तहलाई ४५ चट्टा र पर्साको ४ वटा पालिकालाई ७ चट्टा दाउरा आगो ताप्नका  लागि दिइएको बताएका छन् । 

सामान्यतया एक चट्टामा ३ देखि ४ ट्याक्टर दाउरा हुने गर्दछ ।  चिसो बढेसँगै सडक दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक कार्यालय बाराले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ भने जिल्ला जनस्वास्थ्य कार्यालयले पनि चिसोबाट जोगिन बालबालिका र वृद्ध वृद्धाको विशेष ध्यान दिन अनुरोध गरेको छ ।

bara-cold (9)
bara-cold (8)
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *