किराना पसलमा लागुऔषध बिक्री गरेको आरोपमा महिला पक्राउ

लहानः घरमा रहेको किराना पसलमा प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका–१ बाखर गाउँबाट एक महिलालाई पक्राउ गरेको छ।

आफ्नै घरमा सञ्चालन गरेको किराना पसलमा लागुऔषध बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले स्थानीय करिब ३५ वर्षीया विनादेवी यादवलाई पक्राउ गरेको हो।

पक्राउ परेकी यादवको किराना पसल र घरको खानतलासीको क्रममा १०/१० थान प्रोमोथोजिन हाइड्रोक्लोराइड, डाइजिपाम र इप्पल इन्जेक्सन बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार पसलबाट नाइट्राभेट १० लेखिएको तीन सय २५ थान ट्याब्लेट, ३० थान सुई, ६ थान मोबाइल र नेपाली र भारतीय मुद्रा गरी सात हजार ९० रुपैयाँ बरामद भएको छ।

पक्राउ परेकी यादवलाई धनगढी प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *