काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक विषयमा छलफल गर्न ठूला दलका नेताहरूसँग बालुवाटारमा बैठक सुरु गरेका छन्। यस बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी भएका छन्। छलफलको उद्देश्य संसदमा जारी अवरोध खुलाउने उपाय खोज्नु हो।
प्रधानमन्त्री दाहालले एमाले, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग संवाद गरेर संसदमा देखिएको गतिरोध समाप्त गर्ने प्रयास गरेका छन्। प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति, संसदमा जारी विरोध, र संसदीय समितिको कार्यादेशका विषयमा उठाएका मागहरू छलफलको मुख्य बिन्दु हुन्। प्रधानमन्त्रीले शीर्ष नेताहरूसँग यो छलफलपछि स्थिति सहज हुने अपेक्षा राखेका छन्।
यस छलफलपूर्व, प्रधानमन्त्री दाहालले बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए। उनले राष्ट्रपतिसँग संसदको अवरोधका कारण सरकारले नीति तथा कार्यक्रम पारित गर्न नसकेको कुरा राखेका थिए। साथै, यदि संसदको अवरोध जारी रहे नयाँ बजेट संसदमा प्रस्तुत गर्न असम्भव हुने बारे पनि जानकारी दिएका थिए। संसदको वैठक १३ गते सम्मका लागि स्थगित गरिएको छ र सोही मितिमा पुन: बैठक बस्ने छ।
संसदको अवरोधले सरकारको कामकारबाहीमा समस्या ल्याएमा प्रधानमन्त्रीले अध्यादेशमार्फत बजेट ल्याउने योजना बनाएका छन्। यसै कारण, राष्ट्रपति र शीर्ष नेताहरूसँग परामर्श गरेर प्रधानमन्त्रीले तत्काल समाधान खोज्ने प्रयास गरेका हुन्। संसद निर्वाध रूपमा अघि बढ्ने अवस्था बने भने सरकार नीति तथा कार्यक्रम पारित गरेर बजेट घोषणाको अन्तिम तयारीमा लाग्ने सम्भावना देखिन्छ।


