संसद्मा यतिबेला रास्वपा र कांग्रेसभन्दा पनि एमाले र कांग्रेस भिडिरहेका छन् भन्ने आभास हुन थालेको छ। कांग्रेसले बल्लतल्ल सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसद्मा प्रस्तुत गर्न दियो। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरे। सोही दिन दोस्रो बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यक्रम थियो। तर कांग्रेसको अवरोधका कारण संसद्मा धन्यवादको प्रस्ताव प्रस्तुत हुन सकेन। नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई संसद्बाट धन्यवाद दिने चलन छ। त्यो यसपटक अहिलेसम्म हुन सकेको छैन।
संसद्मा धकेलाधकेल
जेठ ३ गते संसद् चलाउन खोजियो। सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिष्ठाको लडाइँ सुरु भयो। सभामुखले लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदले संसद् अवरोध गर्दा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल हुन पुग्यो। कांग्रेस सांसद धनराज गुरुङ उपसभामुख इन्दिरा राणा भएको स्थानमा गएर उभिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको स्थान यहाँ होइन सभामुखअगाडि हो भन्दै उनीमाथि दुव्र्यवहारसमेत भयो।
बैठक स्थगित
सदन मुडभेडतर्फ उन्मुख हुने देखिएपछि सभामुख घिमिरेले बैठक स्थगित गरे। बैठक सञ्चालनका लागि शुक्रबार पनि दलहरूबीच सहमति हुन नसकेपछि सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित गरिएको छ। प्रतिपक्षी दलहरूले शुक्रबार संसद्मा आफ्नो भूमिकाबारे छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा प्रतिनिधिसभामा विपक्षी बेञ्चमा बस्ने दलहरूको बैठकले तीन विषयमा साझा समझदारी बनाएको छ।
संसदीय छानबिन समिति
विशेषगरी सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एउकजुट भएका छन्। बैठकमा कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चाका नेता सहभागी थिए। विपक्षी दलबीच बनेको समझदारी सभामुखलाई जानकारी गराइएको छ। जेठ ३ गते संसद्मा भएको घटनामा सभामुख जिम्मेवार रहेको निष्कर्ष पनि प्रतिपक्षी दलहरूले निकालेका छन्। सत्ता पक्षले भने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन आनाकानी गरिरहेको छ।


