दुई दशकदेखि बेपत्ता श्रीमान घर फर्किए, सीतालाई खुशीसँगै चिन्ता

दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन्। स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो। शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ।

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएका छन्।कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए। ‘श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो’, शमशेरबहादुरकी श्रीमती सीताले भनिन्।

शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो। दुवै जनाबाट छ सन्तान जन्मिए।‘कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ सन्तान हुर्काएँ’, सीताले भनिन्। यसबीचमा परिवारको साथ नपाएपछि उनी माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आएकी छन्।

शमशेरबहादुर बोल्न सक्दैनन्। उनी घाँटीको क्यान्सर रोगबाट पीडित छन्। आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ। कटुवालको उपचार गराउन सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन्।

बिरामी भएपछि कटुवाल सम्पर्कमा आएका हुन्। धेरै मेहनतपछि उनलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताए।  ‘कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ’ उनले भने।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *