नेकपा एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशन आजबाट मलगंवामा सुरु

काठमाडौँ : नेकपा एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशन आजबाट मलगंवामा सुरु भएको छ।

आज पहिलो दिन आज उद्घाटन समारोह सम्पन्न गरिने जिल्ला उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए। उनका अनुसार मलंगवास्थित जिल्ला प्रहरी कार्यालय अगाडि रहेको खेलकुद विकास समितिको कभर्ड हल चौरमा अधिवेशनको उद्घाटन हुन लागेको हो।

यसअघि मलंगवाकै विश्वकर्मा चोकस्थित २ बिघाको आँप बँगैंचामा उद्घाटन समारोहको कार्यक्रम तय गरिएको थियो। तर, त्यहाँ पानी परेर हिलो भएपछि कभर्ड हलमा कार्यक्रम सारिएको उपाध्यक्ष प्याकुरेलले बताए।

अधिवेशनको पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन्। ओली रक्षामन्त्री हरिप्रसाद उप्रेतीसँगै नेपाली सेनाको हेलिकप्टरमा आउने बताइएको छ।

‘मौसम योभन्दा खराब नभए अहिलेसम्मको अवस्थामा अध्यक्ष ओलीले नै अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम पक्कापक्की रहेको छ,’ एमाले जिल्ला अध्यक्ष राजनारायण साहले बताए।

आज दिनभर उद्घाटन समारोह भएपछि भोलिबाट बन्द सत्र सुरु हुनेछ। बन्दसत्र मलंगवाकै कुसुम पार्टी प्यालेसमा हुने बताइएको छ। नेतृत्वका लागि भोलि सोमबार सहमतिको प्रयास गरिने र नभए पर्सि १ गते मतदान हुनेछ।

नेताहरू प्यानल नै बनाएर प्रचारप्रसारमा रहेकाले नेतृत्वका लागि सहमतिको सम्भावना न्यून रहेको पार्टीकै नेताहरूले बताएका छन्।

वर्तमान अध्यक्ष राजनारायण साहसहित गणेश प्रसाई र जयप्रकाश यादव अध्यक्षको आकांक्षी रहेका छन्। उनीहरू तीनै जनाले प्यानलसहित उम्मेदवारी दिने सम्भावना रहेको छ

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *