बालेनका सल्लाहकारले किन हटाउँदै छन् झिल्के बत्ती

बालेनका सल्लाहकारले किन हटाउँदै छन् झिल्के बत्ती?

काठमाण्डौं : चार-पाँच जनाको समूहले वैशाख १० मा काठमाडौंको न्यूरोडस्थित पीपलबोटमा लगाइएका बिजुली बत्ती एकाएक काट्यो। एक जना रूखमा चढे भने अरूले तलबाट बिजुलीका तार ताने। पीपलबोट वरिपरि रहेका आन्तरिक तथा बाह्य पर्यटक एकटकले हेरिरहे। त्यस क्षेत्रका व्यापारी पनि केही बोलेनन्। के भएको होला भनेर आपसमा कानेखुशी गर्न थाले।

पीपलबोटबाट बिजुली बत्ती निकाल्ने समूहको नेतृत्व गरेका थिए, यादवलाल कायस्थले। उनी काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)का सम्पदा सल्लाहकार हुन्।

उनीसँगै थिए, भक्तपुरका संरक्षण अभियन्ता जीवनपति श्रेष्ठ, मध्यपुर थिमिका धिमेबाजा गुरु सुनील श्रेष्ठ, भिक्षु शैलेश शाक्य। उनीहरूलाई हौस्याएका थिए, न्यूरोडकै अमृत मानन्धरले। सम्पदा संरक्षणकर्मी कायस्थ भन्छन्, “न्यूरोडकै अमृत मानन्धरज्यूले काट्दै गर, म आउँछु भन्नुभयो। अनि त के थियो र? काट्यौं बेकारका झिल्के बत्ती!”

न्यूरोडको पीपलबोटमा मात्रै होइन, अहिले त गाउँटोल जताततै कृत्रिम ‘झिल्के बत्ती’ बाल्ने होड छ। सडकका पोल पोलमा सर्प जस्तै बेरिएका टिकटिके बत्ती टाँगिएका छन्। हुँदाहुँदा त्यस्ता ‘लेड लाइट’ का लहरा रूखहरूमा पनि बेरिन थालेका छन्।

यस्ता कृत्रिम बत्तीको अनावश्यक र बोझिलो प्रयोगले एकातिर कीराफट्यांग्रालाई असर गर्ने, अर्कातिर हाम्रो सांस्कृतिक चेत पनि धूमिल बनाउने विज्ञहरू बताउँछन्। त्यसैले अनावश्यक प्रयोग भइरहेका बत्ती हटाउन थालेको कायस्थ बताउँछन्। उनी डेढ वर्षदेखि यही अभियानमा लागेका छन्।

न्यूरोडको पीपलबोटका बत्ती हटाउनुअघि उनले काठमाडौं-१७ को धोबीचौरको रूखमा राखिएका बत्ती पनि हटाएका थिए। त्यसपछि मैतीदेवी मन्दिरको झिलिमिली बत्ती हटाइएको थियो। अब ठहिंटी चोकका पोलमा बेरिएका बत्ती पनि हटाउने प्रयास भइरहेको कायस्थ बताउँछन्।

आखिर उनी किन बत्ती हटाउँदै छन्? “हामीले बजारमा पाइने बत्ती लगेर मन्दिरमा राखिदिंदा डान्सबार र प्राचीन मन्दिर एउटै देखियो,” कायस्थ भन्छन्, “दलुँचा लगायतका हाम्रा परम्परागत तथा कलात्मक बत्तीलाई परिमार्जन गरेर आफ्नो ठाउँ अनुकूल उज्यालो पार्ने विधि नअपनाई बेकारको झिलमिली मात्र पार्दा पर्यावरणीय तथा सांस्कृतिक असर बढ्दै गयो।”

अनावश्यक बत्तीको प्रयोग विरुद्धको अभियानमा लागिरहँदा शुरूआतमा केही मान्छेले निको मानेनन्। वडा कार्यालयका पदाधिकारीले पनि आफ्‍नो काममा बेकारमा व्यवधान थप्न आएको ठाने। “बत्तीको अनावश्यक प्रयोग र रात्रिकालीन बत्तीको हानिबारे सम्झाइबुझाइ गर्दा गर्दा अचेल भने मानिसहरूले राम्रै कुरा हो भन्ने गरेका छन्,” कायस्थ भन्छन्।

वडा कार्यालयको विकास बजेटबाट सडक, रूख तथा मठमन्दिरमा बत्ती राख्ने गरिएको छ। फेरि रूखमा बत्ती राख्नका लागि स्थानीय बासिन्दाले गुहारेको पनि पाइँदैन। “जनप्रतिनिधिले बजेट सक्न र काम गरेको देखाउन यस्ता अनुत्पादक कुरामा लगानी गरिरहेका छन्,” उनी प्रश्न गर्छन्, “यो अनावश्यक कामको सट्टा सांस्कृतिक संरक्षण, वाचनालय, पुस्तकालय बनाए हुँदैन?”

काठमाडौं महानगरले बिजुलीबजारको पुलमा झिलिमिली बत्ती बालेको पनि उनलाई चित्त बुझेको छैन। मेयर साहका सम्पदा सल्लाहकार भए पनि उनी यसको विरोध गरिरहेका छन्। कायस्थ भन्छन्, “अनुचित कामको त विरोध गर्नुपर्‍यो नि!”

यस अभियानले मन्दिर परिसर, सार्वजनिक स्थल, पार्क लगायत ठाउँमा झिल्के बत्ती (लेड लाइट) नगर्न प्रयास गरिरहेको छ। यसबारे स्थानीय बासिन्दा र जनप्रतिनिधिलाई सम्झाउने/बुझाउने प्रयास गरिरहेको छ। कतिपय मठमन्दिर तथा सांस्कृतिक स्थलमा लगाइएका अनावश्यक झिल्के बत्ती झिकिएको भए पनि कतिपय ठाउँमा हटाउन गाह्रो भइरहेको छ। यसमा स्थानीय सरकारले कदम चाल्नुपर्ने कायस्थ बताउँछन्।

शहरी सौन्दर्यका हिसाबले पनि अनावश्यक झिल्के बत्ती उपयुक्त नभएको विज्ञहरू बताउँछन्। शहरको सौन्दर्य कस्तो हुनुपर्छ भन्ने चेत नभएकाले पनि सौन्दर्य बढाउने नाममा बिगार्ने काम भइरहेको तारागाउँ नेक्ट म्यूजियमका क्युरेटर रोशन मिश्र बताउँछन्। उनी भारतको राजधानी दिल्लीको उदाहरण दिन्छन्।

गत भदौमा दिल्लीमा जी-२८ शिखर सम्मेलन हुँदा पोलमा झिल्के बत्ती लगाएको भए पनि रूखमा नदेखेको उनी सुनाउँछन्। “रूखमै लहरे बत्ती बेरेको कतै पनि देखिएन,” मिश्र भन्छन्, “रूखमै झिलिमिली पानुपर्ने र रातमा अनावश्यक बत्ती बाल्ने त एशियामा हामी मात्रै हौं।”

कुनै चाडपर्व वा समारोहमा एक-दुई दिनका लागि झिलिमिली पार्नु ठीकै भए पनि सधैं त्यस्तो गर्नु उचित नहुने उनी बताउँछन्। यसअघि बौद्धमा राखिएका झिल्के बत्ती हटाइएको र उज्यालोका लागि पोलमा बत्तीको व्यवस्था गरिएको स्मरण गराउँदै मिश्र भन्छन्, “साँझमा सार्वजनिक स्थलमा आउनेहरूका लागि चाहिंदो मात्रामा उज्यालो पार्न बत्तीको आवश्यकता हुन्छ, तर बेकारको झिलिमिली किन चाहियो?”

कायस्थ त धार्मिक, सांस्कृतिक सम्पदाको दृष्टिबाट झिल्के बत्ती उपयुक्त नभएको जनाउँछन्। यसले सांस्कृतिक सम्पदाको गरिमा र महत्त्व घटाएको उनको ठहर छ। यससँगै अनावश्यक बत्तीले पर्यावरणलाई पनि असर पारिरहेको विज्ञहरू बताउँछन्।

झिल्के बत्तीले कीरा, फट्यांग्रा, जुनकिरी, पुतली, लाटोकोसेरो लगायतलाई असर पार्ने गरेको कीटविद् प्राध्यापक भैया खनाल बताउँछन्। यसले उनीहरूको जीवनचक्र नै बिथोलिने खनाल सुनाउँछन्। “अनावश्यक उज्यालोले गर्दा प्राणी जगत्‌मा आहारा, प्रजनन, एकअर्कासँगको सञ्चार तथा पर्यावरणमा नै गम्भीर असर पर्छ,” कीटविज्ञ खनाल भन्छन्।

अध्ययनहरूले पनि अत्यधिक बत्तीको प्रयोगले जुनकिरी हराउँदै गएको देखाएका छन्। पर्यावरणमैत्री निर्माण ढाँचाको वकालत गर्दै आएका विज्ञ एलेक्स विल्सनको अध्ययनले जापानमा कृत्रिम बत्तीका कारण जुनकिरीको संख्या घटिरहेको दुई दशकअघि नै देखाएको थियो।

जुनकिरी मात्रै होइन, निशाचर पुतली र अन्य कीराफट्यांग्रालाई पनि कृत्रिम बत्तीले असर गर्ने प्राध्यापक खनाल बताउँछन्। रातको झिलिमिलीकै कारण शहरी क्षेत्रमा जुनकिरी देखिन छोडेको उनी सुनाउँछन्। “रातको अनावश्यक झिलिमिली कम नगर्ने हो भने जुनकिरी, निशाचर पुतली र अन्य कीराफट्यांग्रा हराउँछन्, पर्यावरणमै असर पर्छ,” प्राध्यापक खनाल भन्छन्।

सम्पदा संरक्षणमा सक्रिय मिश्र शहरी सौन्दर्य जोगाउन पनि जथाभावी झिल्के बत्ती लगाउन नहुने बताउँछन्। “जसरी शहरलाई गाईजात्रा बनाएका होर्डिङ बोर्ड र साइन बोर्ड हटाइए, त्यसरी नै बत्तीबारे पनि निर्णय र कार्यान्वयन गर्न काठमाडौं महानगरले आलटाल गर्नु हुँदैन,” उनी भन्छन्, “सबै स्थानीय सरकारले रात्रिकालीन बत्तीको पनि मापदण्ड बनाएर लागू गर्नुपर्छ।”

अनावश्यक झिलिमिली हटाउने अभियानमा संलग्न भक्तपुरका अभियन्ता जीवनपति श्रेष्ठ पनि स्थानीय सरकार सक्रिय हुनुपर्ने बताउँछन्। उनी गाउँठाउँमा जोडिएका बेकारका बत्तीको औचित्य नहुने विषयमा समुदायलाई सम्झाइबुझाइ गर्दै आएका छन्। “धेरै मान्छेलाई यसको नकारात्मक पक्षबारे थाहै छैन,” अभियन्ता श्रेष्ठ भन्छन्, “मैले पनि अभियानमा लागेपछि मात्रै धेरै कुरा बुझेको हुँ।”

रात्रिकालीन अनावश्यक बत्तीका विषयमा समुदाय सक्रिय हुनुपर्ने उनको भनाइ छ। यस्ता अनावश्यक कार्यमा स्थानीय सरकारले गरिरहेको लगानी रोक्न दबाब दिनुपर्ने उनी बताउँछन्। श्रेष्ठ भन्छन्, “रात झिलिमिली बनाउने नाममा हुने खर्चलाई बरु शहरको पहिचान वृद्धिमा सहयोग पुर्‍याउने जात्रा, पर्व र मेलामा वडाले सहयोग गर्नुपर्छ।”

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *