काठमाडौं, १९ साउन — भारतले इंग्ल्याण्डसँगको पाँचौं र अन्तिम टेस्ट खेलमा ६ रनको रोमाञ्चक जित निकाल्दै पाँच खेलको शृंखला २–२ को बराबरीमा समाप्त गरेको छ। ३७४ रनको कठिन लक्ष्य पछ्याएको इंग्ल्याण्ड अन्तिम दिन ३६७ रनमा अलआउट भयो।
ह्यारी ब्रूकले १११ र जो रुटले १०५ रन बनाए पनि इंग्ल्याण्डले अन्त्यसम्म स्कोर पूरा गर्न सकेन। भारतका लागि मोहम्मद सिराजले ५ विकेट लिएर निर्णायक भूमिका खेले भने प्रसिध कृष्णाले ३ विकेट लिए। सिराजले अन्तिम विकेट लिँदै भारतलाई ऐतिहासिक जित दिलाए।
खेलको पहिलो इनिङमा भारत २२४ रनमा अलआउट हुँदा इंग्ल्याण्डले २४७ रन बनाउँदै २३ रनको अग्रता लिएको थियो। भारतले दोस्रो इनिङमा यशश्वी जैसवालको ११८ रनसहित ३९६ रन जोड्दै इंग्ल्याण्डलाई ३७४ रनको विशाल लक्ष्य दिएको थियो।
इंग्ल्याण्डका गस एट्किन्सनले खेलमा ८ विकेट लिए पनि टीमलाई जित दिलाउन सकेनन्। यससँगै दुवै टोलीले दुई-दुई खेल जितेर शृंखला बराबरीमा टुङ्ग्याएका छन्। पाँचौ टेस्टको नतिजाले क्रिकेटप्रेमीलाई उच्च रोमाञ्चकता प्रदान गर्यो।


