१९ साउन, हेटौंडा — बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदका लागि औपचारिक दाबी पेश गरेका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेको केहीबेरमै बानियाँले कांग्रेस र एमालेका सांसदहरूको समर्थनसहित दाबी दर्ता गराएका हुन्। मुख्यमन्त्रीका लागि पेश गरिएको दाबीमा नेपाली कांग्रेसका ३७ जना र नेकपा एमालेका २७ जना गरी ६४ सांसदको हस्ताक्षर रहेको छ।
बानियाँको पक्षमा कांग्रेस संसदीय दलका नेता स्वयं बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संयुक्त रूपमा दाबी पत्र पेश गरेका छन्। यो गठबन्धन बहुमतको दाबीसहित आएको हो, जसबाट अब बानियाँको मुख्यमन्त्री नियुक्ति लगभग सुनिश्चित देखिन्छ।


