अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै ; तीन दिन विद्यालय बन्द गर्ने

अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै ; तीन दिन विद्यालय बन्द गर्ने

वीरगञ्ज: अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएपछि वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले मौसम विभागको पूर्वानुमान अनुसार तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम जारी रहने सम्भावना रहेको बताए। बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै थप तीन दिन गर्मी बिदा दिइएको उनले जानकारी दिए।

महानगरका विद्यालयहरूलाई बिहान १०ः३० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिइएको थियो। तर, उक्त समयमा कक्षा सञ्चालन गर्दा पनि विद्यार्थी मुर्छित भएपछि थप तीन दिन बिदा दिने निर्णय भएको भट्टराईले बताए। यसअघि, शिक्षा समितिको जेठ १४ गतेको बैठकले जेठ १६ देखि १८ गतेसम्म गर्मी बिदा दिने निर्णय गरेको थियो।

जल तथा मौसम विज्ञान विभागले बुधबार वीरगञ्जको अधिकतम तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको बताएको छ भने अहिले यहाँको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ। विभागले मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *