बाढीमा डुब्यो चन्द्रको सपना, तर हारेका छैनन् हिम्मत


२० असोज, विराटनगर । कोशी प्रदेशका अन्य जिल्लाहरुमा जस्तै झापामा पनि शनिबार रातिदेखि नै पानी परिरहेको थियो । गाउँ नजिक भएर बग्ने सानोमाई खोला गडगडाएर बगिरहेको थियो ।

भोलिपल्ट बिहानै उठेर झापा गाउँपालिकाका चन्द्रप्रसाद बस्नेत (३८) आफूले गरेको केरा खेती हेर्न बारीमा निस्किए । कुनै पसाउँदै थिए, कुनै पाकिसकेका थिए ।  छिमेकीहरु पनि आ–आफ्नो नियमित काममा व्यस्त थिए । त्यतिन्जेलसम्म गाउँको वातावरण सामान्य नै थियो । तर बिहान साढे नौ बजेतिर शान्त वातावरण एक्कासी बिथोलियो, जब गाउँमा एक्कासी बाढी पस्यो ।

‘पश्चिमतिरबाट एक्कासी भेल घरसम्मै आयो । घर अगाडिको नाला भरिएर सडक पूरै ढाकियो,’ चन्द्रले आइतबार बिहानको क्षण सुनाए, ‘हेर्दाहेर्दै झुप्रा घरहरु भत्किए, भाँडाकुँडा, अन्न, लत्ताकपडा बगे । गाउँमा भागाभाग भयो ।’

ठूलोमाई र बिरिङ खोलाको बाढी सानोमाई खोलामा समेत मिसिएर गाउँमा पसेको थियो । बाढीले रंगपुरसहित कुमरखोद, सुगाबथान लगायतका बस्तीमा समेत नराम्रोसँग क्षति पुर्‍यायो ।

‘केही घण्टा अघिसम्म काठमाडौंको वर्षा र बाढीको समाचार सुन्दै दिनचर्या बिताइरहेका हामी आफैं समाचारका विषय बन्न पुग्यौं,’ चन्द्रले भने ।

झापा गाउँपालिकामा भएको डुबान

उनलाई थाहा भएसम्म गाउँमा बाढी पसेको यो पहिलोपटक हो । उनको आफ्नै घरभित्र पनि बाढी पसेको थियो । ३० बिघामा लगाएको केरा खेती पनि पूरै डुबानमा परेको थियो ।

सपना पनि डुब्यो

झापाको झापा गाउँपालिका–३ रंगपुरका युवा किसान चन्द्रप्रसाद बस्नेत नेपालकै उदाहरणीय युवा किसान हुन् । झापा गाउँपालिकामा व्यवसायिक केरा खेती सुरु गर्ने श्रेय उनैलाई जान्छ ।

२०७४–०७५ सालमा ‘लर्न एण्ड अर्न’ (सिक्दै कमाउँदै) कार्यक्रम अन्तर्गत इजरायल पुगेका उनले त्यहाँबाट फर्किएपछि २०७६ सालमा ‘एग्री सेन्टर झापा’ नामको कम्पनी दर्ता गरेर केरा खेती सुरु गरेका थिए । १० कठ्ठा जग्गाबाट केरा खेती सुरु गरेर उनले ३० बिघासम्म बिस्तार गरे । उनले गाउँका अन्य २०–२१ परिवारलाई पनि केरा खेती गर्न सिकाए ।

उनकै सक्रियतामा रंगपुर गाउँलाई सरकारले केरा खेती पकेट क्षेत्र घोषणा गर्‍यो । कृषि क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै २०८१ सालमा नेपाल सरकारले उनलाई ‘उत्कृष्ट युवा किसान’को पुरस्कार तथा सम्मान प्रदान गरेको थियो ।

यी सबै सफलताको कथामा अहिले नयाँ मोड आएको छ । किनकी बाढीले उनको केरा बगान मात्र होइन, लगानी र सपना पनि डुबेको छ ।

‘मेरो मात्रै ३० बिघा केरा खेतीमा बाढी पस्यो, यस वर्ष ६३ हजार घरी केरा उत्पादन गर्ने लक्ष्यमा धक्का लाग्यो,’ चन्द्रले भने, ‘मेरो मात्रै एक करोड हाराहारीको नोक्सान भयो ।’

उनले मात्र होइन, उनकै प्रेरणाले कृषि कर्ममा लागेका गाउँका अन्य किसानहरुले पनि नसोचेको क्षति व्यहोर्नुपरेको छ । चन्द्रको नाममा रहेको एग्री सेन्टर झापासहित पुजा खनालको साधना संस्कृति नमूना कृषि प्रालि, उराउ कृषि उपज, समृद्धि दिदी–भाइ कृषि फर्म र सुम्निमा पशुपन्छी तथा कृषि फर्मलगायतमा बाढीले बढी क्षति पुगेको छ ।

बाढीले डुबाएका कारण अहिलेको केरा खेती काम नलाग्ने भएको बस्नेतले बताए । ‘पूरै डुबानमा परेकाले उत्पादन लिन सकिँदैन, रोग किरा लाग्छ, बोट ओइलाउँदै जान्छ,’ चन्द्रले भने, ‘अहिलेसम्मको सबै मिहिनेत खेर जाने भयो ।’

तर उनले हिम्मत भने हारेका छैनन् । वर्तमान सरकारप्रति आशावादी हुँदै उनी भन्छन्, ‘युवाको बलमा बनेको सरकारले हामीजस्ता युवा किसानहरुलाई पनि सहयोग गर्छ भन्ने आश छ । यदि गर्याे भने फेरि उठ्न सकिन्छ ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *