पोखरामा सडकमा आएको भेलले बगाउँदा आमा–छोरीको मृत्यु

पोखरामा सडकमा आएको भेलले बगाउँदा आमा–छोरीको मृत्यु

१३ भदौ, काठमाडौं । कास्कीको पोखरामा सडकमा आएको भेलले बगाउँदा आमा–छोरीको मृत्यु भएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वर्षापछि सडकको नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका–३०, ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीको मृत्यु भएको हो।
शुक्रबार साँझ उनीहरू ग १३ प २८५९ नम्बरको स्कुटरमा बिरौटादेखि पृथ्वीचोकतर्फ जाँदै थिए। स्कुटर सडकको छेउमा रोकेर झर्ने क्रममा बालिका रानीलाई सडकमा आएको भेलले अचानक बगाएर नालीमा पुर्‍याएको थियो।
बालिकालाई बचाउने क्रममा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन्। त्यस क्रममा भेलले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल पोखरा–१७ स्थित बिरौटासम्म पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।
उनीहरूलाई बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा सुष्माको शुक्रबार राति मृत्यु भएको र छोरी रानीको शनिबार बिहान मृत्यु भएको बरालले बताए।
घटनाबारे स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले आवश्यक अनुसन्धान गरिरहेका छन्।

पोखरामा सडकमा आएको भेलले बगाउँदा आमा–छोरीको मृत्यु
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *