लालबन्दी । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका एक घरबारविहीन परिवारलाई अमेरिकामा बस्ने एक नेपालीले सहयोग गरेका छन् ।
आर्थिक अवस्था निकै कमजोर रहेको लौकही बस्ने अशोक यादव वैदेशिक रोजगारीका लागि कतारमा छन् । उनी कतार गएपछि पश्चिम एसियामा चर्केको द्वन्द्वका कारण उनी पनि समस्यामै छन् । अर्थात् उनले कमाइ गर्न सकिरहेका छैनन् । यस्तोमा उनी कतारमा रहँदा उनको यता घरमा आगलागी भएको थियो ।
घर चल्नुको साथै सबै समान जलेका थिए । अशोक अझै घर बनाउने आशमा कतारमा मजदुरी गरिरहेका छन् भने यता, श्रीमती मनिषादेवी यादव अनि पाँच जना छोराछारी आगलागी भएको उजाड घरमा बस्दै आएका छन् ।
यसरी घरवारविहीन भएपछि अमेरिका बस्ने लौकही निवासी आकाश साहले सुनसरीका स्थानीय पत्रकार पवन रौनियारमार्फत ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । उक्त सहयोगले अहिले उनलाई निकै ठुलो राहत भएको छ ।
मनिषाको घरको अवस्थाबारे रौनियार आफ्नो फेसबुकमा भिडिओ राखेपछि अमेरिका बस्ने आकाशका साथै अन्य सहयोगीहरूले मनिषादेवीलाई सहयोग गरिरहेका पत्रकार रौनियारले बताए । सहयोग जुट्न थालेपछि अहिले उनको घर बन्न थालेको छ ।
काठमाडौँ बस्ने समाजसेवी अबुल अन्सारीले हालै सात हजार सहयोग गरेका छन् । सहयोग पाउन थालेपछि मनिषादेवीले अहिले बालबच्चालाई स्कुलसमेत पठाउन थालेकी छन् । उनका नानीबाबुका लागि पोसाकका साथै अन्य सहयोग पनि जुट्न थालेको पत्रकार रौनियारले बताए ।
मनिषादेवीको उक्त स्थान घडेरी हुनुबाहेक अन्त कतै जग्गाजमिन छैन । अरूको खेतबारीमा काम गरेर उनको गुजारा चल्दै आएको छ । अरुबाट ऋण लिएर कमाउने उद्देश्यले विदेश गएका श्रीमान् पनि इरान–इजराइज युद्धका कारण अप्ठ्यारोमा अवस्थामा परेका छन् ।


