जेनजी आन्दोलनको बीच गौर कारागार रणभूमि, सयौँ कैदी फरार

जेनजी आन्दोलनको बीच गौर कारागार रणभूमि, सयौँ कैदी फरार

रौतहट : जेनजी आन्दोलनले दिनभर तनावग्रस्त बनेको रौतहटको सदरमुकाम गौरस्थित कारागार मंगलबार राति रणभूमिमा बदलिएको छ। कैदीबन्दीले कारागार तोडफोड गर्दै सामूहिक रूपमा भाग्ने प्रयास गरेपछि ठूलो संख्यामा कैदी फरार भएका हुन्।

कारागारमा रहेका २९१ कैदीमध्ये २४ जना बाहेक सबैले भाग्ने कोसिस गरेको प्रहरी स्रोतले जनाएको छ। प्रारम्भिक अवस्थामा सुरक्षाकर्मीले ३० जनालाई नियन्त्रणमा लिएका थिए भने थप केहीलाई भारततर्फ भाग्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार अझै ठूलो संख्यामा कैदी फरार रहेका छन्। उनीहरूको खोजतलासका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ।

मंगलबार दिनभरै जेनजी आन्दोलनका कारण रौतहटमा स्थानीय प्रशासन र सुरक्षाकर्मीमाथि चर्को दबाब थियो। यही अवस्थाको फाइदा उठाउँदै कैदीहरूले राति कारागारमा हुलहुज्जत मच्चाएर भाग्न सफल भएको बताइएको छ।

यस घटनापछि गौरसहित आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ भने कारागार फरार घटना नियन्त्रणमा लिन सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन भइसकेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *