रेशम पक्षका सरोज सिंह र उमाशंकर सम्भावित उम्‍मेदवार

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नागरिक उन्मुक्ति पार्टीले रुपन्देही–३ मा डा.सरोजसिंह चौधरी र डा.उमाशंकर चौधरीबाट एक जनालाई स्वतन्त्र उम्मेदवार बनाउने भएको छ।
  • नाउपाको संरक्षक रेशम चौधरी पक्षले उठाउने स्वतन्त्र उम्मेदवारलाई मधेस केन्द्रित पाँच दलले समर्थन गर्ने निर्णय गरेका छन्।
  • पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले रुपन्देही–३ को चुनावका लागि तयारी नगरेको र केन्द्रीय समिति बैठकमा उम्मेदवारबारे छलफल हुने बताएको छ।

१३ भदौ, काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रुपन्देही–३ मा डा.सरोजसिंह चौधरी र डा.उमाशंकर चौधरी मध्येबाट एक जनालाई उम्मेदवार बनाउने भएको छ ।
पार्टीभित्रको विवादका कारणले नाउपा दल चुनावका लागि दर्ता भएको छैन ।

१७ कात्तिकमा हुने उपनिर्वाचनमा नाउपाबाट बन्ने उम्मेदवार स्वतन्त्रको हैसियतमा रहने छन् । ढकिया चुनाव चिन्ह दुबै पक्षले नपाउने भएका छन् । संरक्षक रेशम चौधरी पक्षले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको छ ।

रेशम पक्षबाट उम्मेदवार हुनका लागि मूख्यतः दुई आकांक्षी देखिएका छन् । रुपन्देहीका नाउपा अध्यक्ष तुलसी चौधरीका अनुसार आकांक्षीहरुको संख्या सुरुमा ६ जना देखिए पनि हाल दुई जना मात्रै रहेको जानकारी गराए ।

सरोजसिंह चौधरी नाउपाका लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष हुन् । उनी चिकित्सक समेत हुन् । भैरहवा निवास सरोजसिंह दन्त चिकित्सक हुन् । सरोजसिंहले क्षेत्रमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएका छन् । सरोजसिंहको नाम गत निर्वाचनमा यही क्षेत्रबाट सिफारिस भएको थियो । उनी उम्मेदवार भने बनेनन् ।

नाउपाबाट अर्का आकांक्षी उमाशंकर थारु आयोगका पूर्व सदस्य हुन् । उमाशंकर नवलपरासी निवासी हुन् । नाउपा प्रवेश गरेका उमाशंकर पार्टी संरचनामा कुनै जिम्मेवारी भने तय भइनसकेको रुपन्देही अध्यक्ष तुलसी चौधरीले जानकारी गराए।

‘दुवै जना फिल्ड वर्क गरिराख्नु भएको छ । जनताले जसलाई मन पराउनु हुन्छ उहाँलाई फिल्डमा हामीले उतार्ने छौं,’ जिल्ला अध्यक्ष चौधरीले भने,‘ दुवैजनाले पार्टी कमिटी देखि बौद्धिक वर्गहरुलाई भेट गरिरहनु भएको छ । पार्टीको बैठक राखेर उम्मेदवार बनाउँछौ ।’

नाउपा संरक्षक रेशम पक्षले उठाउने स्वतन्त्र उम्मेदवारलाई मधेस केन्द्रित अन्य पाँच दलले समर्थन गर्ने भएका छन् । संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध सात दलमा जनमतले आफ्नै उम्मेदवार उठाउने भएको छ। अन्य दलहरु समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील दल, राष्ट्रिय मुक्ति पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टीले रेशम पक्षधरले उठाएको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।

मोर्चामा आवद्ध राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले रुपन्देही–३ मा उमाशंकरको सम्भावना बढी रहेको जानकारी गराए । उनले भने,‘नाउपाले स्वतन्त्र उम्मेदवारका रुपमा उमाशंकरलाई अघि बढाउने जस्तो मानेका छौं । उहाँहरुले जसलाई बनाउनु हुन्छ, हामी समर्थन गर्छौं ।’

गत निर्वाचनमा यस क्षेत्रमा नाउपाका उम्मेदवारले चौथो स्थानको मत ल्याएका थिए । नाउपा उम्मेदवार तुल्सीप्रसाद थारुले ४ हजार ७५१ मत प्राप्त गरेका थिए ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले भने रुपन्देही–३ को चुनावका बारेमा तयारी गरिसकेको छैन । श्रेष्ठ पक्षधर केन्द्रीय सदस्य दामोदर पण्डितले उपनिर्वाचनका विषयमा हालसम्म कुनै छलफल नभएको जानकारी गराए । पण्डितले अनलाइनखबरसँग भने,‘आइतबार र सोमबार अध्यक्षले केन्द्रीय समिति बैठक बोलाउनु भएको छ । बैठकमा उम्मेदवारको बारेमा कुरा हुन्छ ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *