रामपुकारका हत्या आरोपीले यसअघि पनि आफ्नै श्रीमतीको हत्या गरेको खुलासा

हरिपुर्वा : गत साउन ३० गते राति गोली प्रहारबाट मृत्यु भएका रामपुकार रायको हत्यामा प्रहरीले नयाँ ट्विस्ट फेला पारेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार रहेका व्यक्तिले नै रामपुकारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । जिल्लाको हरिपुर्वा नगरपालिकामा भएको उक्त घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर्वा नगरपालिका-६ निवासी ४० वर्षीय रामपुकार राति करिब सवा ८ बजे आफ्नै घर अगाडि बसिरहेका वेला मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए ।

प्रहरीका अनुसार हरिपुर्वा-५ बस्ने २६ वर्षीय धर्मेन्द्र राय भन्ने धीरेन्द्र रायले चलाएको बीआर ३० एजी २३५४ नम्बरको अपाचे मोटरसाइकलमा आएका उनीहरू घटनामा संलग्न थिए । यादवका छोरा सुमित रायसँगको पुरानो विवादलाई लिएर कुराकानी गर्ने क्रममा मोटरसाइकलको पछाडि बसेका व्यक्तिले आफूसँग भएको पेस्तोलबाट रामपुकारको टाउकोमा गोली प्रहार गरेका थिए ।

हत्यापछि भाग्ने क्रममा उनीहरू चढेको मोटरसाइकल हरिपुर्वा-७ बसन्तपुरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका चालक धीरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पछाडि बसेका र गोली प्रहार गर्ने मुख्य व्यक्ति भने अझै फरार छन् । घाइते धीरेन्द्रको उपचारपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ ।

गोली लागेर गम्भीर घाइते भएका यादवको महोत्तरीको जानकी हेल्थ केयरमा उपचारका क्रममा सोही राति ९ बजे मृत्यु भएको थियो । प्रहरीले घटनास्थलबाट गोलीको खोका एक थान बरामद गरेको छ । अनुसन्धानका क्रममा धीरेन्द्रले मलंगवा-९ मा डेरा गरी बस्ने गरेको खुलेपछि उनको कोठा खानतलासी गर्दा एक थान नलकटुवा पेस्तोल र अर्को एक थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका धीरेन्द्रलाई सर्लाही जिल्ला अदालतबाट ३१ गतेदेखि लागु हुनेगरी सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।

पहिले पनि हत्या आरोप

पक्राउ परेका धीरेन्द्र राय यसअघि पनि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार अभियुक्त रहेको खुलेको छ । उनले गत वर्ष २०८१ असोज १० गते आफ्नै श्रीमती चित्रलेखा कुमारी यादवको निधारमा गोली हानी हत्या गरेका थिए भने आफ्नै बुवा राम दिनेश रायलाई समेत गोली हानी घाइते बनाएका थिए ।

उक्त घटनापछि उनका बुवाले कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि उनी फरार रहँदै आएका थिए ।

प्रहरीले दुवै घटनालाई जोडेर अनुसन्धान गरिरहेको छ । यादवको हत्यामा संलग्न फरार अर्का व्यक्तिको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *