कटारी, १९ साउन । उदयपुरको उदयपुरगढी गाउँपालिका–०७ स्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
शनिबार अपराह्न ४:२० बजे काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०५६१ नम्बरको ट्रकले पैदल हिँडिरहेका रौतामाई गाउँपालिका–०७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
उक्त दुर्घटनामा ट्रक अनियन्त्रित भई सहचालक दोलखाको कालिन्चोक गाउँपालिका–४ निवासी ४० वर्षीय गोमे दर्जी गम्भीर घाइते भएका छन्। उनको दाहिने खुट्टामा चोट लागेको र तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।
ट्रक चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ निवासी ५४ वर्षीय नवराज राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


