काठमाडौं । भोजपुरको अरुण गाउँपालिकामा अब शैक्षिक र सांस्कृतिक गतिविधिका लागि नयाँ बहुउद्देश्यीय भवन बन्ने भएको छ। मंगलबार आयोजित एक विशेष कार्यक्रममा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्तरूपमा भवनको शिलान्यास गरे।
सो अवसरमा राजनीतिक नेता, सरकारी अधिकारी र स्थानीय समाजसेवीहरूको पनि उल्लेखनीय उपस्थिति थियो, जसले यो आयोजनाप्रति समुदायको गहिरो चासो झल्काउँछ।
भारत सरकारको “नेपाल–भारत विकास सहकार्य” अन्तर्गत ३ करोड १ लाख ८८ हजार रुपैयाँको अनुदानमा यो भवन निर्माण हुने भएको हो। तीन तल्ले यो भवनमा कक्षा कोठा, शिक्षक कक्ष, कार्यक्रम हल, बैठक कक्ष, छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय तथा अन्य सहायक संरचनाहरू रहनेछन्।
यस्तो सुविधा सम्पन्न भवनले विद्यालयको पूर्वाधारलाई मात्र होइन, समुदायकै सामाजिक र सांस्कृतिक आवश्यकतालाई पनि सम्बोधन गर्नेछ।


