काठमाडौं, बैशाख २ : नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर बहुप्रतिक्षित नेपाली फिल्म ‘सिटामोल’ को पोस्टर सार्वजनिक गरिएको छ। तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्म्सको संयुक्त निर्माणमा तयार भएको यस सिनेमाले आउँदो साउन २३ गते बाट देशव्यापी प्रदर्शनको मिति घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ।
पोस्टरमा सौगात मल्ल बैशाखीको सहारामा हातमा रातो भाले समातेर उभिएका देखिन्छन्, भने उनको छेउमा बेनिशा हमाल बच्चा बोकेर मुस्कुराइरहेकी छन्। उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा देखिने संकेत उक्त पोस्टरबाट स्पष्ट हुन्छ। फिल्ममा सौगात र बेनिशासँगै श्री कृष्ण निरौला र जानुका बिकले मुख्य भूमिकामा डेब्यु गरेका छन्। साथै, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीले पनि फिल्ममा अभिनय गरेका छन्।

सिनेमाको कथा प्रदीप भण्डारी र निर्देशक सानेले लेखेका हुन्। निर्माण टिममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता, र गंगाराम श्रेष्ठ सहनिर्माताको रूपमा रहेका छन्।
सिटामोल मा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, र पोस्टर डिजाइन राकेश दाहालले गरेका छन्। सिनेमाको छायांकन दिव्य सुवेदीले गरेका हुन् भने प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेका छन्। सामाजिक कथावस्तुमा आधारित यो फिल्मले नेपाली समाजको संवेदनशीलता र मानवीय पक्षलाई प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।