काठमाडौँ, चैत १५ : समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आपराधिक तत्वलाई अविलम्ब कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। मोर्चाले एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरूको कार्यालय तथा नागरिकको जनधनको सुरक्षामा सरकारको ध्यानाकर्षण गराएको छ।
मोर्चाले हालै राजधानीमा आयोजित जनप्रदर्शनपछि उत्पन्न हिंसात्मक घटनाको कडा शब्दमा भर्त्सना गर्दै यसलाई अराजक गतिविधि भएको टिप्पणी गरेको छ। मोर्चाका अनुसार, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय तथा काठमाडौँ जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास, निजी तथा सार्वजनिक सम्पत्ति तथा सञ्चार गृहमा तोडफोड तथा आगजनी गरिएको छ।
यसै क्रममा, मोर्चाले प्रतिगामी षड्यन्त्रविरुद्ध तथा गणतन्त्रको संवर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आयोजित जनप्रदर्शनमा उल्लेखनीय नागरिक सहभागिताप्रति आभार व्यक्त गरेको छ।
समाजवादी मोर्चामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध रहेका छन्।