काठमाडौँ, चैत ६ : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने आफ्नो अघिल्लो धारणा प्रति क्षमायाचना गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्नो भनाइ पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको स्पष्ट पार्दै माफी मागेका हुन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने बताएका थिए। मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिए अर्थतन्त्रलाई टेवा पुग्ने उनको तर्क थियो। तर, यस अभिव्यक्तिले विभिन्न वर्गबाट आलोचना पाएपछि उनले आफ्नो धारणा व्यक्तिगत रहेको उल्लेख गर्दै माफी मागेका छन्।
उनले भने, ‘चैत ३ गते सभाको विशेष समयमा राखेको धारणा मेरा व्यक्तिगत विचार हुन्। नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा होइन। यदि यी विचारले सम्मानित सदनका सदस्यहरू वा आम नागरिकमा नकारात्मक प्रभाव पारेको छ भने म क्षमा याचना गर्दछु।’
घिमिरेको भनाइपछि संसदमा विभिन्न प्रतिक्रिया आएका थिए। केहीले उनको विचारलाई समर्थन गरे पनि, धेरै सांसद र सर्वसाधारणले यसको आलोचना गरेका थिए। सामाजिक सञ्जालमा समेत उनको अभिव्यक्तिप्रति मिश्रित प्रतिक्रिया देखिएको छ।
यस प्रकरणले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिने बहसलाई पुनः चर्काएको छ। केही मानव अधिकारकर्मीहरूले यो विषयमा खुलेर छलफल गर्नुपर्ने बताइरहेका छन् भने केही समूहहरूले यसलाई सामाजिक मूल्य–मान्यतासँग असंगत भन्दै अस्वीकार गरेका छन्।