काठमाडौँ, चैत २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय शिक्षा विधेयकलाई शीघ्र पारित गर्दै आन्दोलनरत शिक्षकका जायज मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले शिक्षा क्षेत्रको सुधार र शिक्षकहरूको अधिकार सुनिश्चित गर्न सरकारको इच्छाशक्ति आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार, हाल दर्ता भएका संशोधनहरू मध्ये कतिपय एउटै प्रकृतिका भएकाले उपसमिति गठन गरी विधेयक पारित गर्न सकिने सम्भावना छ। उनले शिक्षा र शिक्षकलाई सरकारको उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै, शिक्षा नै राष्ट्रको समृद्धिको मुख्य आधार भएको बताए। अध्यक्ष प्रचण्डले शिक्षकका मागप्रति बेवास्ता गर्न नहुने स्पष्ट पार्दै, विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने प्रतिबद्धता व्यक्त गरे।
उनको निजी सचिवालयका अनुसार, समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसक्दा समस्या उत्पन्न भइरहेको छ। यस्तो अवस्थामा, सरकारले शिक्षकहरूका मागलाई गम्भीरतापूर्वक लिएर उनीहरूको हितमा आवश्यक निर्णय गर्नुपर्ने उनको धारणा रहेको छ।