बैतडी, चैत २ : बैतडी जिल्ला प्रशासन कार्यालयमा झन्डै १७ हजार राष्ट्रिय परिचयपत्र सेवाग्राहीले लिन नआउँदा थन्किएको छ। कार्यालयका अनुसार छपाइ भएर आइसकेका १६,९०८ थान परिचयपत्र सेवाग्राहीको बेवास्ताका कारण कार्यालयमै रहेको छ।
सूचना अधिकारी पवनकुमार शाहीका अनुसार, एक वर्षअघि नै २० हजार परिचयपत्र जिल्लामा आइपुगेको भए पनि हालसम्म मात्र ३,०९२ थान परिचयपत्र वितरण गरिएको छ। बायोमेट्रिक प्रणालीबाट रुजु गरेर मात्र परिचयपत्र प्रदान गर्न सकिने भएकाले सेवाग्राहीको उपस्थितिको आवश्यकता पर्ने उनको भनाइ छ।
परिचयपत्र तयार भइसकेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा जानकारी पठाइने भए पनि धेरैले लिन नआएको प्रशासनको भनाइ छ। अध्ययन तथा रोजगारीका लागि जिल्लाबाहिर रहेका, भौगोलिक विकटता, र जानकारी अभावका कारण पनि सेवाग्राहीहरू परिचयपत्र लिन नआएको हुनसक्ने अनुमान गरिएको छ।
सरकारले बैंक खाता खोल्ने लगायतका अत्यावश्यक कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरे पनि लिन आउनेहरूको संख्या कम रहेको कम्प्युटर अपरेटर सुरेन्द्रदेव भट्टले बताए। उनले दिनहुँ ९०-१०० जनाले फाराम भरे पनि छपाइ भएर आइसकेका परिचयपत्र लिन जम्मा ८-१० जना मात्र आउने गरेको बताए।
बैतडीमा हालसम्म १,२२,९२० जनाको विवरण सङ्कलन भइसकेको छ। जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आवश्यक कागजात लिन समयमै उपस्थित हुन आग्रह गरेको छ।