रूपन्देही, फागुन २० : गृहमन्त्री रमेश लेखकले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ। उहाँका अनुसार दिगो शान्ति, सुशासन, विकास, र समृद्धि सरकारको प्रमुख प्राथमिकता हो। रूपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री लेखकले सेवा प्रवाहलाई सहज र सरल बनाउन सरकार कटिबद्ध रहेको बताउनुभयो।
उहाँले देशभित्रै व्यवसायमैत्री वातावरण तयार पार्दै आर्थिक उन्नति र विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै संविधानको रक्षा गर्नु सरकारको मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ। बेलहिया नेपालका प्रमुख अन्तर्राष्ट्रिय नाकामध्ये एक भएकाले यसको व्यवस्थित विकास आवश्यक रहेको बताउँदै नव निर्मित भवनले अध्यागमन प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राख्दै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउने उद्देश्यले सरकारले अध्यागमन सेवालाई अझ व्यवस्थित बनाउन लागेको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो। साथै, अध्यागमन कार्यालयलाई मुलुकको ऐना भन्दै सेवाग्राहीलाई सहज र सम्मानजनक सेवा दिन प्रहरी तथा कर्मचारीलाई निर्देशन दिनुभयो।