काठमाडौँ, फागुन १८ : गृहमन्त्री रमेश लेखकले ताप्लेजुङस्थित पाथीभरा केबुलकार निर्माणका विषयमा उठेका विवाद समाधान गर्न सरकार वार्ता र संवादको माध्यमबाट अघि बढ्न चाहेको बताएका छन्। आइतबार राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सरकार शान्तिपूर्ण रूपमा समस्याको समाधान गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।
गृह मन्त्रालयले माघ २० गते सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो, जसले आन्दोलनरत पक्षसँग पटक–पटक छलफल गरिरहेको छ। स्थानीय समुदाय, सांस्कृतिक तथा धार्मिक सवालहरूलाई सम्बोधन गर्ने सरकारको तयारी छ। तर पछिल्लो समय वार्तामा केही अवरोध आएपछि सरकारले पुनः वार्ताको आह्वान गरेको मन्त्री लेखकले जानकारी दिए।
उनले पाथीभरा क्षेत्रमा शान्ति सुरक्षाका लागि सुरक्षा निकायले उच्च संयमता अपनाइरहेको उल्लेख गर्दै विवादलाई हल गर्न सरकार जिम्मेवार ढंगले अघि बढिरहेको बताए।