फागुन ५, लुम्बिनी – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सभाको सोमबार बस्ने बैठकलाई विशेष सम्बोधन गर्नुहुने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार प्रधानमन्त्री ओलीले बिहान ११:३० बजे विशेष सम्बोधन गर्नुहुनेछ।
🔹 औपचारिक निमन्त्रणासहित विशेष सम्बोधन
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा नियमावली, २०७९ को नियम २२० (२) अनुसार प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा पठाएका थिए। यसअघि प्रधानमन्त्री ओलीले २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभालाई विशेष सम्बोधन गर्नुभएको थियो।
📍 एमालेको विशाल जनसभा तयारी
विशेष सम्बोधनपछि प्रधानमन्त्री ओली दाङको घोराहीमा आयोजना हुने एमालेको जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यका अनुसार जनसभामा करिब ५० हजार जनताको उपस्थिति रहने अनुमान गरिएको छ।
🎭 झाँकीसहितको र्याली
जनसभा अघि घोराहीका चारवटा क्षेत्रबाट विभिन्न संस्कृति झल्काउने झाँकीसहितको र्याली निकालिने एमाले दाङका उपाध्यक्ष तथा जनपरिचालन उपसमितिका संयोजक मनोहर बुढाथोकीले जानकारी दिएका छन्।