२५ माघ,काठमाडौं । सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेखेका छन्।
पत्रमा उनले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै जोशीको शीघ्र रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका छन्। साथै, नेपाल सरकारले हालै इजरायल–हमास युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौतामा लिएको सकारात्मक दृष्टिकोणको पनि स्मरण गराएका छन्।
गएको आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुख घिमिरेसँग भेट गरी विपिन जोशीको रिहाइका लागि संसदीय कूटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए। सभामुखको अपिलसँगै कूटनीतिक तहमा थप पहल हुने अपेक्षा गरिएको छ।