२४ माघ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसको प्रयोगलाई हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरेका छन्।
खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते आयोजना हुने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को पूर्व तयारी कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्रको महत्त्व र सहर केन्द्रित सम्मेलनलाई बाँस सम्मेलनले चुनौती दिने धारणा राखे।
उनले बाँसको उपयोगले दिगो र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। पूर्व मन्त्री गणेश शाहले पनि सम्मेलनले बाँस उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।