पोखरा–मुग्लिन सडक विस्तार: पश्चिम खण्डमा २८.५२ किमि कालोपत्रे सम्पन्न

पोखरा–मुग्लिन सडक विस्तार: पश्चिम खण्डमा २८.५२ किमि कालोपत्रे सम्पन्न

गण्डकी : गण्डकी प्रदेशअन्तर्गत पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा हालसम्म २८.५२ किमि सडक कालोपत्रे सम्पन्न भइसकेको छ। आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार अब १०.३६ किमि सडक कालोपत्रे गर्न बाँकी रहेको छ, जसमा तनहुँमा २.७४ किमि र कास्कीमा ७.६२ किमि पर्छ। उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नतिको कार्य एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको छ।

यो परियोजना सन् २०७८ देखि चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले कार्यान्वयन गरिरहेको हो। हालसम्म तनहुँमा २०.८ किमि र कास्कीमा १८.०८ किमि सडक कालोपत्रे भइसकेको छ। चार लेन दुवैतर्फ तनहुँमा १०.०८ किमि र कास्कीमा ४.३९ किमि तथा दुई लेन (एकतर्फी) तनहुँमा ७.९८ किमि र कास्कीमा ६.०७ किमि कालोपत्रे सम्पन्न भएको छ।

निर्माण कम्पनीले प्रारम्भिक तीन वर्षे ठेक्का अवधि भदौमा सकिएपछि म्याद थपेर कामलाई तीव्रता दिएको छ। पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थल, अमरसिंह चोक, बुढीबजार, तालचोकदेखि गगनगौँडासम्म कालोपत्रे कार्य तीव्र रूपमा भइरहेको छ।

यस आयोजनामा १२ वटा सडक पुल निर्माण हुनेमध्ये ९ वटा अन्तिम चरणमा पुगेका छन्। वियजपुर खोला र सेती नदीमा पुल निर्माण कार्य पनि सँगसँगै भइरहेको छ। परियोजना अन्तर्गत नाली, कल्भर्ट तथा अन्य पूर्वाधार निर्माणको कार्य समेत द्रुत गतिमा अघि बढिरहेको छ।

पोखरा–मुग्लिन सडकको कुल लम्बाइ ८१ किमि रहेको छ, जसमा पश्चिम खण्ड (पोखरा–जामुने) को लम्बाइ ३८.८८ किमि रहेको छ भने पूर्वी खण्ड (जामुने–मुग्लिन) को लम्बाइ ४१.४५ किमि रहेको छ। पूर्वी खण्डमा पनि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले विसं २०७८ वैशाखदेखि निर्माण कार्य अघि बढाएको थियो। दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक तथा अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गरिँदैछ।

निर्माण कार्यमा प्रारम्भिक चरणमा कोभिड–१९ महामारीका कारण ढिलाइ भएपनि हाल कामले तीव्रता पाएको छ। चिनियाँ निर्माण कम्पनीले एक वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। पोखरा-मुग्लिन सडकको स्तरोन्नतिपछि गण्डकी प्रदेशको प्रमुख व्यापारिक तथा पर्यटन मार्गमा यात्राको समय घट्ने, सडक सुरक्षामा सुधार आउने तथा यातायात व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *